Visitor Count

Up Down Scroll

सपनाको शहर, विदेशको कोसेली

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

मनभरि सपनाको ठूलो भारी बोकेर बिदेशिएको ऊ गएको वर्ष दिन नपुग्दै मृत्युको खबर आउदा परिवारलगायत गाउँ नै शोकमग्न भयो । यद्यपि विहे गरेको २ महिना पुग्दा नपुग्दै छाडेर गएको श्रीमानको मृत्युको खबरले सहन गाह्रो होला भन्ने हेतुले उनलाई थाह दिइएको थिएन । मान्छेहरु खासखुस गर्दै टिठ्याउथे । विचरी उनलाई के थाह ? सधैंझैं उही मन्द मुस्कानमा प्रतिक्रिया दिन्थिन् । उनको यो अञ्जान निर्दोषितामा परिवारका सदस्यहरु आँखाबाट पिल–पिल आँसु झार्थे । केही भन्दैनथे । आखिर सत्य कति समय लुकाउन सकिन्थ्यो र ? खबर पाएको महिना दिनमै उसको निर्जीव शरीर आइपुग्यो ।


उनी गोठालोबाट आउदै थिईन् । बाटैबाट घरमा मानिसहरुको भीडभाड देखी । कता–कता मनमा चिसो पस्यो । शंका–उपशंकाले मनमा डेरा जमाउन थालिसकेको थियो । जति नजिक पुग्यो, उति मनले ढ्यांग्रो ठोकिरहेको थियो । मानिसहरु उनलाई हेर्दै मुख बाउन थालेका थिए । के भएको हो, सोध्ने हिम्मत उनमा थिएन । अनर्थको संकेतले फतक्कै गलिसकेकी थिईन् । पाइलाहरु अगाडि बढ्न मानिरहेका थिएनन् । उनलाई देख्नेवित्तिकै परिवारका अन्य सदस्यहरु डाँको छोडेर रुन थाले । अब भने केही सूईंको पाइन् र भीड छिचोल्दै उनी सकी–नसकी केही पाइला के अघि बढेकी थिईन्, प्रलय भयो । आकाश खस्यो, टेकेको धर्ती भासियो । सपना हो या विपना ? उनले छुट्याउनै सकिनन् । आगनमा लाम्चो काठको बाकसभित्र आफ्नै श्रीमानको मृत शरीर लम्पसार पारेर राखिएको थियो । उनी त्यही ढलिन्, डंरङै । भीडभरि कोलाहल मच्चियो–
“लौन ! छिटो पानी ल्याऊ ।”
“विचरी ! वेहोस भएर ढली ।”

मुर्छाबाट ब्युँझदा वरिपरि थुप्रै मानिसहरु थिए । कसैले उनलाई पानी खुवाउदै थिए, कसैले हम्किरहेका थिए । कोही रोइरहेका थिए । ढुंगा–माटोसमान भइसकेको श्रीमानको पार्थिव शरीरमा शिर राखेर बेस्सरी रोईन् उनी । सायद त्यतिबेला उनले पोखेका वेदनाहरुको सारांश यस्तै थियो–
“वाचा ललो, जुग थोबा बिसी यालो
तो तदिईमो चुर्, थोरे म्होरा किसी यालो
खले टिले ङ
तारे ङै तो लब, तम्लो सिलेई ङ ।
-
म्हिस–त्हयाँ, क्हिलई न मेसी टिलो
खेम खलई बिसी ङ प्रेसी टिलो
खले टिले ङ
तारे ङै तो लब, तम्लो सिलेई ङ ।
-
सेंसी टिलो, कते ताँमे भिउ बिसी
सेंभरिर्बे, सेंब मायाँ पिउँ बिसी
खले टिले ङ
तारे ङै तो लब, तम्लो सिलेई ङ ।
-
तारे खले, चु जुनी थोल खामो
म्लेकी किंसी, कते दिन सोल खामो
खले टिले ङ
तारे ङै तो लब, तम्लो सिलेई ङ ।
-
बरु तोकोई, भोदो छ्यो प्रेई ङलई
खेदो क्ररेई, झरी म्हेउ चु ट लाई
खले टिले ङ
सोसी ङै तो लब, तम्लो सिलेई ङ ।”

(मातृभाषा, स्थानीय गुरुङ भाषामा सानो प्रयास गरेको छु । ठाउँ अनुसारको लवज र स्थानीय बोलीचालीको पृथकताले गर्दा भाषिक अशुद्धतालाई नकार्न सकिदैन । भाषागत अज्ञानता हावी भएको पनि देखिन सक्छन् ।)
.