Visitor Count

Up Down Scroll

अन्त्य: एउटा प्रेम गर्ने मनको इहलीला

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

Wedding Ceremonyरंगी–चंगी सजावटहरुले घर–आगन सजिएको थियो । गेटमा टाँगिएको रातो ब्यानरमा लेखिएको थियो–‘शुभ–विवाह, स्वागतम’  । स्वागतार्थ बनाइएको गेटबाट मानिसहरुको बाक्लै आवत–जावत थियो । घरमा निकै देखिन्थ्यो । बाजा–गाजा घन्कन थालिसकेको थियो । उता गाउँका युवा–युवतीहरुले रोधीघर जमाइसकेका थिए । यता पञ्चेबाजामा नाच्नेहरुको पनि उत्तिकै घुइँचो थियो ।

“यता खाना ल्याऊ ।”
“यता तरकारी चाहियो ।”

छुट्टै किसिमको माहोलमा सबैको मन निकै प्रफुल्ल थियो । यस्तो लाग्थ्यो कि संसारमा आजको दिन कोही दुःखी छैन । सब मस्त रमाइरहेका थिए । तर घायल मनभित्र उठेका आवेग–प्रवेगका उतारचढावपूर्ण छालहरुलाई जवरजस्ती दमन गरेर निमन्त्रणामा पुगेको ऊभित्रको पीडा कसले देख्न सक्थ्यो र ? बाजाको तालको रोमाञ्चकतामा लठ्ठ परेको घेराबन्दी भीड चिर्दै कहिल्यै ननाच्ने ऊ बीचमा छि¥यो र नाच्न थाल्यो, पञ्चेबाजाको तालमा । उसको वेढंगको नचाईमा कति त हाँसें पनि होला । तर उसलाई कुनै पर्वाह थिएन ।
‘सिन्दुर हाल्ने बेला भयो अरे ।’ भीडबाट कसैले भन्यो ।

उसको कानसम्म ठक्कर खान पुगेको यो आवाजले उसको अनुहारको रंग बदलिन थाल्यो । मानिसहरु बेहुला–बेहुलीको वैवाहिक कार्यक्रम भइरहेको स्थलतर्फ जान थाले । ऊ पनि लुरुलुरु त्यतै लाग्यो । सिन्दुर भर्ने काम सकिइसकेको रहेछ । भावशून्य मुद्रामा भीडमा आफूलाई लुकाउँदै उसले रंगिसकेको उनको सिउँदोमा एकतमासले हेरिरह्यो । उसको आँखाभरि आँसु छल्किसकेको थियो । अनुहारको भाव लुकाउन असक्षम थियो ऊ । उनैले दिएको रुमाल झिकेर कसैले नदेख्ने गरी आँसु पुछ्यो । मानिसहरु भीडमा खासखुस गर्दै थिएँ । त्यतिबेला ब्यथित हृदयभरि यस्तै गीत गुञ्जिरहेको थियो ।

‘...................
.............
आफ्नै छायाँलाई,
एक चिम्टी सिन्दुरले खोस्यो मायाँलाई ।’

शरीरमा लागेको घाउलाई मल्हम–पट्टी गरे निको हुन्छ । मनमा लागेको चोट केले कसरी निको पार्ने ? मेडिकल साइन्सले हालसम्म पनि पत्ता लगाउन नसकेको मनको पीडा भुलाउने काम गर्छ मदिराले । तड्पनका पीडाहरु भुल्न विगतमा नियमितै जसो मदिरा सेवन गरेपनि आज जति उसले कहिल्यै पिएको थिएन । खुशी भएर हो या दुःखी भएर, आज उसले अत्याधिक रक्सी पिएको थियो ।

उता गाउँका युवा–युवतीहरुले रोधीघरमा फेरि रोधीभाका हाल्न थालिसकेका थिएँ । खुट्टा लर्खराउदै लाग्यो ऊ पनि त्यतैतिर र नाच्न थाल्यो । रातभर चल्यो रोधीघरको घम्साघम्सी युवा–युवतीहरुका बीच । ऊ त्यही रोधीघरको मादलुको तालमा मात थप्दै आफ्नै सुरमा रातभर नाचिरह्यो । विहानीपख रोधीघर विसर्जन भयो, सबै आ–आफ्ना बाटो लाग्न थाले । ऊ पनि लर्खराउदै आफ्नो बाटो समात्यो । नसाले उसलाई छोडेको थिएन, बरु प्रभाव जमाउन थालेको थियो । उसलाई वान्ता हुन शुरु भयो । मातेको शरीरमा शिथिलता छायो, खुट्टाले हिड्ने सामथ्र्य पूर्ण रुपमा गुमाएको थियो । कहिले कुनातर्फ, कहिले छेउतिर लर्खराउदै ऊ अगाडि बढ्न थाल्यो ।

“छि, कस्तो गन्हाएको !”

“खाएपनि शरीरले सहने गरी खानुपर्छ नि ।”

“त्यसको बाउको मूत खानेहरुले खान थालेपछि कहाँ चाल पाउँछन् र ?”

“...मर्न नसकेको हैजा ! ...हेर, बाटो–बाटोमा के विधि गरेको !...त्यसलाई ठक्लक्कै मर्न परोस् ।”

बाटो हिड्नेहरुले उसलाई यसरी सराप्दै हिड्थे ।

तीन चार दिनपछि गोठाला गएका गाउँका केटाकेटीहरुले बाटोमूनि झ्याङभित्र कपडाजस्तो केही देखेछन् । नजिक गएर हेर्दा उनीहरु कहालिए । त्यहाँ उसैको अनुहारको रंग उडिसकेको रक्ताम्मे शरीर लडिरहेको थियो ।


(पुनश्चः माफ गर्नुहोला, विवाह उत्सव कस्तो हुन्छ मैले प्रत्यक्ष रुपमा आजसम्म उपस्थित हुने कुनै अवसर भेटेको छैन ।)
.