Visitor Count

Up Down Scroll

समाज दृष्टिविहीन भयो त के भो त, आकाशका चम्किला आँखाहरु खुल्लै थिए

समाज दृष्टिविहीन भयो त के भो त यदि ब्रम्हाण्ड विशाल छ भने आकाशका चम्किला आँखाहरु खुल्लै थिए, निदाएको वहाना गरिरहन सकेनन् । ती बाटाहरु, ती धुरी, भित्ता र खाँबाहरु बहिरा थिएनन् । तिनले देखेका र सुनेका शब्दचित्रहरुले उनका अभिब्यक्तिभित्र अचित्रित भैरहन सकेनन् ।

म तिमीलाई यति धेरै प्रेम गर्थें कि त्यतिबेला म सम्झन्थें, मैले जति प्रेम आजसम्म कुनै मुना–मदन, लैला–मजनु र रोमियो–जुलियटजस्ता आदर्श प्रेमको महान एवं उदाहरणीय उपमाधारी संसारका कुनै पनि प्रेम जोडीहरुले गरेका छैनन् । कहिलेकाही यो कुरा ठोकुवा नै लगाउन पनि म पछि पर्दिनथें । हामीबीच सधैं एउटा आदर्श प्रेमको नमुना जोडी बनेर देखाउने कुरा हुन्थ्यो । समाजमा एउटा पृथक पहिचानसहितको उदाहरणको रुपमा पेश हुनेछौं भन्ने कुरामा अधिक–विश्वस्त भैदिंदा हामी त्यतिबेला सीधा हिसाबले मात्र सोच्न सक्ने क्षमता राख्थ्यौं । तर वास्तविकता त्यस्तो मात्र हुदैन रहेछ । परिस्थिति सधै मानिसको विरुद्धमा उभिइरहेको हुदोरहेछ । यात्रामा अनेकौं घुम्ती, मोड र दोबाटोहरु पनि भेटिंदा रहेछन् । जहाँ सोझो मार्गको मात्र अपेक्षा राख्नु हाम्रो मुर्खता थियो । प्रेमको गाडी हाँक्ने जिम्मा लिएर खटिएको अनुभवविहीन चालक थिएँ म । जिम्मेवार सहचालिका तिमी पनि थियौ । प्रणय–यात्राका ती अप्ठ्यारा लाग्दा घुम्ती, मोड र दोबाटोहरु भेटिदा मेरो अपरिपक्वता प्रष्टैसँग झल्कन्थ्यो । म डगमगाएको हुन्थें । त्यतिबेला सहचालिकाको हैसियतले सम्हाल्ने जिम्मा तिम्रो पनि हुन्थ्यो । जुन कोशिष तिमीले पनि नगरेको हैन । तर यति हुदा–हुदै पनि नसम्हालिएको परिवेशमा प्रेमको गाडी हाँक्ने सवालमा तिमी र म दुबै असफल चालक सावित हुनपुगेका थियौं । प्रेमको गाडी पल्टिदा भावनात्मक रुपमा गम्भीर घायल बनेका हामीहरु त्यतिबेला स्थितिलाई नियन्त्रणमा लिनुको सट्टा झन एकअर्काको दोषारोपणमै ब्यस्त रह्यौं । दुर्घटनाग्रस्त स्थिति देख्दा, देख्नेहरुलाई यो स्वादिष्ट मसलेदार परिकार बनिरहेको थियो । घरमा सम्बन्धमा दरार पैदा हुदा छिमेकीकोमा शरण पर्नु अस्वाभाविक थिएन । यस अर्थमा तिमीले आफ्नोलाई पराई र पराईलाई आफन्त देख्न थालिसकेका थियौ, जो तिम्रो मात्र गल्ती मान्न विल्कुलै मिल्दैनथ्यो । दुर्घटनामा घाइते बन्न पुगेका हामीहरुको जीवनोपचारका लागि त्यतिबेला उपचारको औधी खाँचो थियो । कोही डाक्टर भएको भए हामी पुनःस्वस्थ भएर सोही गाडी पुनः हाक्न सक्षम हुने थियौं । तर त्यसो भैदिएन । म पुनर्जीवनका लागि तिमीलाई औषधि खुवाउन खोज्थें । तिमीलाई त्यो तीतो औषधि के मीठो लागोस्, बरु विषतुल्य भैदिन्थ्यो । यस्तै विकराल असहज स्थितिबाट जीवन गुज्रिरहदा तिम्रा आफन्तहरुले मसलेदार परिकार बनाएर मज्जैले खाएछन् । तिमीलाई पनि खुवाएछन् । स्वार्थी संसारमा कसलाई कसको विश्वासको के ग्यारेण्टी हुन्छ र ? सायद उनीहरुले बनेको परिकारमा अझ उत्कृष्ट स्वाद थप्नका लागि सोडा र अजिनोमोटोजस्ता आधुनिक रासायनिक मसलाविशेष बस्तु पनि मिसाएको हुदो हो । बारबारको सेवनमा बानी परेकाहरुलाई त्यो नपच्ने कुरै थिएन । तर तिमीलाई त्यो अपच भएर बेस्सरी पेट दुख्न थालेछ । पीडामा तिमी रोयौ, करायौ, चिच्यायौ, छट्पटायौ । त्यो पीडा ब्यक्त गर्ने साझा अभिब्यक्ति थियो । तिम्रा पीडाहरुमा म नदुःखेको हैन, तिम्रा रोदनहरुमा म नरोएको हैन, छटपटाहटमा नछट्पटाएको हैन । स्वादले दिएको चरम सन्तुष्टिको बखत कसले स्वादभित्रको अवगुण ख्याल गर्न सक्छ र ? आजसम्म मैले चुरोटबाट सन्तुष्टि लिने धुमपानमा लत बसेकाहरुले चुरोटलाई दोष लगाएको थाह पाएको छैन । अन्ततः दोष औषधिलाई दियौ । तिम्रो भनाईमा मैले खुवाएको औषधि गुलियो, मीठो, स्वादिलो हुनुपथ्र्यो तर औषधिले आफ्नो सक्कली स्वाद लुकाउन सकेन । तीतो भइदिनु औषधिको अवगुण थियो । त्यो तिक्ततालाई तिमीले यति तिरस्कार ग¥यौ कि त्यसले यात्राका बाटाहरुसमेत भत्काइदिएर मलाई बीच बाटोमा अलपत्र परेको यात्री बनाईदियौ । हुन त म पनि पानीमाथिको ओभानो बन्न मिल्दैनथ्यो, गलत म पनि थिएँ । तिमी पनि थियौ । तर त्यतिबेला आत्मालोचना कहिल्यै गरेनौ ।
Punishment of Love

आज मलाई तिमीले अपांग मनोविश्लेषक बनाइदियौ, श्रेयष्कर तिमी छौ । तिम्रा अभिब्यक्तिभित्र लुक्न नसकेर उजागर हुने भावहरुमा भेटिने गहन अर्थ एक एक केलाउदा पाउँछु, मृत्युको विरुद्धमा घोर संघर्ष गरी–गरी सत्यबहादुरले एक न एक दिन जीवन पाउँछ भन्ने उक्ति यथार्थ हो भने मृत घोषित सत्यबहादुर अझै जिउदै छन्, जसले मलाई फेरि पनि बारबार तर्साउने प्रयास गरिरहेछ । यो अवस्थामा मैले आफ्नो हतियार प्रहार गर्ने मौका नपाएको हैन । तर मैले त्यसो गरिन । मैले राम्रोसँग बुझेको छु, तिम्रो हृदय भित्रैसम्म छामेको छु,तिमीलाई बाध्यता छ कि तिमी अनविज्ञ नहुदा–नहुदै पनि केही कुराहरुमा अनविज्ञता प्रकट गरिरहेछौ । विष घोलेको स्वादिष्ट भोजन गराएर तिनै तिमीलाई अस्वस्थ बनाउनेहरुले तिमीलाई घुर्की लगाइरहेको आभाष मैले सहजै अनुमान लगाएको छु । मलाई थाह छ, दन्कने आगोको भुंग्रोमा एकदमै शीतल थियो, त्यही शीतलतामा पीडा बिसाउदा आनन्द लाग्यो भन्नुको मतलव ।

भत्किएर गन्तब्य हराएको विजोग अनि अलपत्र बाटाहरु मर्मत गरेर सुचारु यात्राको शून्य सम्भावनाको तिम्रो सामाजिक कठिनाई योभन्दा पहिले कहिल्यै अस्वीकृत थिएन । हिजो तीतो औषधिलाई विष भनेर प्रचार प्रसार गरिसकेपछि औषधिमाथिको विश्वसनीयता ह्रास गराएपछि आज औषधिलाई पुनः औषधिकै रुपमा सेवन गर्न पनि भएन । त्यसो गर्दा समाजमा हासिल गरेको स्थानको वजनमा आफू हलुंगो हुनुपर्ने कति नैतिक संकट छ है तिमीलाई ? तर पनि नभनी रहन सकिन, समाज अन्धो भएर त के भो, विशाल ब्रम्हाण्डका चम्किला आकाशीय ताराहरु निदाएका थिएनन्, धुरी, भित्ता र खाँबाहरु बहिरा थिएनन् । उनीहरुले जे देखे, जे सुने, त्यो आफै त्यही बोल्न बाध्य भएको अनुभूति पाइरहेको छु ।

.