Visitor Count

Up Down Scroll

विगतका यादहरुका सन्दर्भमा

बर्षा भयो भनै एउटा ठूलै महत्वपूर्ण प्राकृतिक उपलब्धी मान्नुपर्ने यूएईजस्तो देशका केही आंशिक भूभागहरुमा हिजो बेलुकीपख छिटफुट रुपमा बर्षा भएको खबर छ । बर्षेका जलवुँदहरुसँगै वर्षातले स्मृतिरोगीको स्मृतिपटमा आलो स्मृति लिएर आइदियो । स्मृतिहरुको आगमनमा उद्धेलित भावनाहरुले आदिदेखि अन्त्यसम्मका टुक्रिएका पल–पलका यादहरुलाई जोडेर साकार त तुल्यायो, तर स्मृतिरोगीका टुक्रिएका दिलका छरपष्ट भग्नावशेषहरु झन छरपष्ट पारिदियो ।

यी अनुभूतिहरुको सञ्चार नभएपनि कहिलेकाही कहिलेकाही स्मृतिरोगी कहिलेकाही सोच्नपुग्छ, ‘यताको मन बल्झाउन आउने यी स्मृतिहरु याद बोकेर कहिलेकाही उता जान्छ कि जादैन होला ?’ कल्पनाका, सुमधुर सम्बन्धका सम्भावित रुपरेखाहरु एकातिर थन्क्याइसकेको यो अवस्थामा पनि विगतसँग गुनासो गर्दै अनुमान लगाउन बाध्य हुन्छ, ‘सायद कहिलेकाही त यादहरुले उताको मनलाई पनि गिज्याउछ होला । बेस्सरी काउकुती लगाउछ होला । तिनै यादहरु, जो स्मृतिमा मेटिने छैनन् । जतिबेला गृहमन्त्रालय अन्तर्गतका प्रशासनिक निकायहरुले तत्कालीन सुरक्षा स्थितिलाई मध्यनजर राख्दै देशभरका शहरी क्षेत्रहरुमा जारी गर्ने कफ्र्यु आदेशले झमक्क साँझ पर्दा नपर्दैदेखि मानवीय चहल–पहल सेलाउन थाल्थ्यो । बेलुकीको सात बज्दा नबज्दै शहर सुनसान श्मशानघाटजस्तै प्रतीत हुन्थ्यो । शहरी इलाकाका आसपासमा रहेका ग्रामीण दूरवस्तीहरुबाट कुकुर भुकेका मिहिन आवाजहरु सुनिन्थ्यो । जुन शहरको सन्नाटालाई छिचोल्दै स्मृतिशैयासम्म पनि स्पष्टै कानमा ठोक्किन आइपुग्थ्यो । अपरिचयको वन्दीगृहभित्र उतापट्टि उनी तन्मय–मन्मयताका साथ पढिरहेकी हुन्थिन् । यता स्मृतिरोगी पाठका पानाहरुमा नजर लगाउदा–लगाउदै कतिबेला निद्रादेवीको न्यानो काखमा लुट्पुटिन पुग्दोरहेछ, पत्तै पाउदैनथ्यो । एउटा नारी आवाज आएर भन्ने गथ्र्यो, “भाई ! मैले बत्ती बन्द गरिदिएँ । सुत्नु ल !” दिदीको आवाज हुन्थ्यो ।

त्यतिबेला हामीसँग अलार्म हुदैनथ्यो । गाउँमा हुँदा कुखुराको भालेले विहानीको संकेत दिन्थो, शहरमा त्यो हुने कुरै भएन । उषाकालीन पूर्वसंघारमा नजिकैको मन्दिरमा गायत्री मन्त्रको कर्णप्रिय धार्मिक ध्वनि बज्न थालेपछि प्रभातकालीन संकेत मिल्दथ्यो । त्यसपछि शहरका बस्तीहरुमा बत्ती बल्न शुरु हुन्थे । मानिसहरुको सल्बलाहट बढ्न थाल्दथ्यो । बाहिरबाट गाडीको घाँईघुँईं सुनिन थाल्थ्यो । वास्तवमा गायत्री मन्त्र नै थियो, त्यतिबेलाको विहानी अलार्म ।

आज पनि जव गायत्री मन्त्रको ध्वनि गुञ्जेको सुन्छु, त्यही क्षण ताजा भएर आइदिन्छ, साथमा उनी भावपूर्ण मुद्रामा मुस्कुराईरहेकी हुन्छिन् । भन्न मन लाग्छ, “तिमी सधैं यसरी नै मुस्कुराईरहनु ल !”

सर्वत्रापमानित स्मृतिरोगी ‘नामर्द’
.