Visitor Count

Up Down Scroll

समर्पण

अगाडि टेलिभिजन छ । टेलिभिजनको सानो पर्दामा चल चित्रहरु चलिरहेछन् । कोठाको एकान्तमा स्मृतिरोगी एक्लै तिनै चलचित्रका परिदृष्यहरुमा सामुन्द्रिक छालहरु तरंगित भएझैं देखा पर्ने भावनात्मक उतारचढावहरुमा बहदै तन्मय मन्मय भएर निर्निमेष नजर लगाईरहेछ । मनको कोमलताले भावनाहरु थेग्न नसक्दा भावुकताको बाँध भत्किएर उसका नयनी तालहरु सजल देखिन्छन् । कथाले अझ वियोगात्मक चरमताको उत्कर्ष संकेत गर्दा द्रवीभूत भई पोखिएका अब्यवस्थित भावनाहरु बोकेका अश्रु वुँदहरु ओरालोतर्फ झन हाम फाल्न थाल्छन् ।

गोरे गुरुङद्वारा अभिनित काल्पनिक संयोगान्त देखाइएको वियोगात्मक प्रेमकथामा आधारित चलचित्र ‘वाचा–बन्धन’ हेर्दाको स्थिति उजागर गरिरहदा त्यही चलचित्रको दृष्यझैं, त्यस्तै खालको कथासँग मिल्दो–जुल्दो खालको लाग्ने एउटा वास्तविक जीवनमै घटेको यथार्थले एकपटक मलाई भावविह्वल बनायो । फरक यति मात्र छ भनौं, उक्त कथामा पुरुष पात्र वियोगको विह्वलतामा कथाको अन्त्यतिर आउदा उसको जीवनलीला समाप्त भएको छ, यहाँ महिला पात्रको । पर्दाको कथा वास्तविकतामा हेर्दा भावनाहरुले मनभित्र चिमोटेर, चिथोरेर मलाई सुखै दिएन । मनले लेख्न कर गरिरह्यो । तर यो गरीब मष्तिस्कको सोझो हस्तक्षेपमा शासित हुन बाध्य तिनै भावनाका शब्दहरु चाहना हुदा हुदै पनि फुत्किएर निस्कन मान्दै–मान्दैनन् । यद्यपि मनको बलले मनकै तालमा नाच्न बाध्य मनको मालिक बन्न नसकेर मनको दास बनेको स्मृतिरोगी कलमको सहारामा नजानी–नजानी केही लेख्न खोज्दैछ । थाह छैन, उसले सही गर्दैछ या गलत ! ऊसँग छुट्याउने क्षमता छैन । यसो भनिरहदा उसलाई घटनाका कारण आहात भएका मनहरुमा मनहरुमा ‘नुनचुक’ छरेर बल्झाउने काम हुन जान्छ कि भन्ने डर पनि लागिरहेछ । तैपनि ती रोदनीय मनहरुसँग अग्रिम माफी माग्दै अगाडि बढ्न चाहन्छ ।

‘मैले जसको बारेमा लेख्न खोजिरहेको छु, नाम म जान्दिन, को हो, त्यो पनि त्यति राम्रोसँग थाह छैन, म चिन्दिन । तर मेरो एक विश्वासी पात्रले भनेको सुनेको तथा अनुभूति गरेको आधारमा र पछिल्लो समय फेसबुक स्टाटस अपडेट हुन रोकिनुपूर्व अपडेट भएका उनका पीडानुभूतिका नसम्हालिएका अभिब्यक्तिहरु पढ्दा प्रेमको संसारमा भावनात्मक त्याग र समर्पणले प्रेमका लागि साहसिक वलिदानी दिने वीराङ्गना शहीदको रुपमा चिन्दछु । यसो भन्दैमा अर्थ त्यो हैन कि, जुन घटना भएको छ, त्यो सही नै हो । अथवा मेरो आशय त्यो हैन, प्रेमको नाउँमा त्याग र समर्पण भन्दै अन्त्य भएको सती प्रथा पुनः ब्युँताउने आभाष दिलाउने अभिब्यक्ति । बरु यो  घटना घटिसकेपछिको यो स्थितिमा घटनाको बारेमा सकारात्मक विश्लेषण प्रयास हो । जसले साँचो अर्थमा समवेदना पोखेको हुनेछ भन्ने ठान्दछु ।

वैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तान पुगेका श्रीमानको निधनले निकै विचलित भएकी उनी केही हप्ता अगाडि यही फेसबुकका भित्ताहरुमा वियोगको पीडा नियन्त्रण गर्न नसकेर आफ्नो स्टाटसमा पोख्दै थिई । उनको अभिब्यक्तिमा समवेदना, सहानुभूतिका शब्दहरु प्रतिक्रियाका रुपमा देखिन्थे भने वेखबरहरुका शब्दहरुमा जिज्ञासाका भावहरु देखिन्थे ।

क्रमशः.....................
.