Visitor Count

Up Down Scroll

मृत्युको मुखबाट उम्केर आएको मान्छे र वज्र जिन्दगीको

‘यो रेडियो नेपाल हो । अब ... बाट समाचार सुन्नुहोस् । ............’

म सानो छँदा घरमा बुवा रेडियो बजाउनुहुन्थ्यो । रेडियोबाट थुप्रै मानिसहरुको आवाज आइरहेको हुन्थ्यो । मेरो बाल–मष्तिस्कले सोच्दथ्यो, ‘...यति सानो रेडियोभित्र यति धेरै मान्छेहरु कसरी अटाएका होलान् ? कसरी सम्भव भएको छ यो ?’ कौतुहलता र जिज्ञासाका यावत लहरहरु बाल–मानसपटलमा यसरी नै घुमिरहन्थे । यद्यपि सानैदेखिको अल्पभाषी एवं अन्तरमुखी स्वभावका कारण कसैसँग सोध्ने हिम्मत गर्दिनथें ।
Radio Smriti
मानसपटलमा जन्मिएका यी जिज्ञासाहरु जरा गाडेर हुर्कंदा त्यसले सही जानकारी चाहन्थ्यो । जो जानकारहरुबाट लिन सकिन्थ्यो । तर कतिपय अवस्थामा जानकारहरुबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने हुदैन । बरु अवलोकन, प्रयोग र अनुभूतिको माध्यमबाट पनि केही हदसम्म प्राप्त गर्न सकिदोरहेछ । सायद त्यतिबेलाको कलिलो मष्तिस्कले अञ्जानैमा यस्तै मार्ग अपनाउन खोज्यो । एकदिन बुवा कतै टाढा जानु भएको थियो । घरमा कोही हुनुहुन्थेन । त्यही मौका छोपेर रहस्यको पोको फुकाउने सुर कसें ।


बुवाको रेडियो दुई टुक्रा बन्दा त्यसभित्रको परिवेश कल्पना गरेअनुरुपको थिएन । निकै फरक परिवेशमा त्यहाँ कुनै मानव अवशेष थिएन, न कुनै सांगीतिक वाद्यवादन सामग्रीहरु नै थिए त्यहाँ । बरु रेडियो त विभिन्न पार्टपुर्जाहरुबाट पो बनेको हुदोरहेछ । तिनै पार्टपुर्जा थिए त्यहाँ । यद्यपि मानवीय अनुपस्थितिको वातावरणमा त्यहाँ रहेका दुई खुट्टाले उभिने पार्टपुर्जा (क्यापासिटर) हरुलाई मानवाकृतिको रुपमा तुलना गर्न सकिन्थ्यो । ‘कलर कोडिङ’ सहित दुई खुट्टाले उभिने पार्टपुर्जा (रेजिष्टर) हरुलाई मादल, तीन खुट्टाले उभिएका काला–काला पार्टपुर्जा (ट्रान्जिष्टर) हरुलाई आधुनिक वाद्यवादनका सामग्री (ड्रम प्याड सेट), त्यस्तै चारैतिर पर्खालले घेरिएका जस्ता देखिने पार्टपुर्जा (आइ एफ टी) हरुलाई नतर्कीहरुको श्रृंगार–गृह लगायत अलि ठूलो क्षेत्र समेटेर रहेको पार्टपुर्जा (ग्याङ कण्डेन्सर) लाई त्यतिबेला रंगमञ्चको रुपमा तुलना गर्थें । यी तुलनात्मक कल्पनाचित्रले मनको कौतुहलता त केही हदसम्म साम्य पा¥यो तर जिज्ञासा नमेटिदै अर्को आपत आइलाग्यो ।

मलाई गालीको भयले समाइसकेको थियो । पेचकस (स्क्रु ड्राइभर) ले खोल्नुपर्छ भन्नेसमेत ज्ञान नहुदा हँसियाको चुच्चोले फटाएर खोलेको रेडियो पुनः जोडिन नसक्ने भइसकेको थियो । आत्मग्लानिले सताउन थालिसकेको थियो । मानसिक रुपमा डरले पूर्णतः डगमगाएको थिएँ, ‘अब बुवाले मार्नु हुनेभो’ भनेर । हतार हतार उक्त रेडियोलाई जस्ताको तस्तै गरी यथास्थानमा राखिदिएँ ।
बुवा रेडियो बजाउन खोज्दै हुनुहुन्थ्यो । यता भय–आतंक मच्चिरहेको मन डरले काँपिरहेको थियो । रेडियो बजेन । उहाँले चाल पाइहाल्नुभएछ क्यारे ! ठ्याक–ठ्याक र ठुक–ठुक पार्दै भन्नु भयो, “रेडियो कसैले चलाएको थियो ?” म झस्किएँ । हंसले ठाउँ छोडिसकेको थियो । तैपनि डरले भिजेको विरालोझै भएर काँप्दै भनेको थिएँ, “मैले चलाएको थिएँ, कसरी बज्दोरहेछ भनेर ।” तर जुन पूर्वांकलनको सम्भावित कारणले मेरो भयभीत मानसिकता सिर्जना भएको थियो, त्यस्तो ब्यवहार नपाएपछि म खुशी भएँ ।
शान्त नभएको जिज्ञासाले झक्झकाइरहदा थुप्रै पटक यस्तै घटनाहरु दोहोरियो । त्यसबीचमा कति पटक सही सामानलाई रद्दी पनि बनाएँ । यद्यपि त्यसले केही ज्ञान भने पक्कै प्रदान गरेको थियो । यसले मेरो शैक्षिक अध्ययनमा विज्ञानप्रतिको झुकाव बढाइदिएको थियो । जसका कारण त्यतिबेला विज्ञानसम्बन्धी सन्दर्भ सामग्रीहरु खोजी–खोजी पढ्ने बानी पनि बसेको थियो । जतिबेला साधरण सेल बनाउने विधि, विद्युतीय लेपन, ग्याँस उत्पादन, डाइनामोको नमुनाजस्ता विज्ञानसम्बन्धी पाठ्यक्रममा भएका प्रयोगहरु सामग्री जुटाएर घरमै पनि गर्ने गर्थें ।
पछि टुकीको उज्यालोमा जीवनको रंग छुट्याउन अभ्यस्त हाम्रा जीवनहरुमा ग्रामीण विद्युतीकरण कार्यक्रमले छुट्टै उर्जा दिएको थियो । जसका लागि गाउँमा छलफल भैरहदा देखि नै विद्युतीकरणको पूर्व परिकल्पनाले सपनामा समेत पूरै गाउँ झलमल्ल भएको देख्थें । सोही क्रममा ग्राहस्थ विद्युत परिपथ र हाउस वायरिङसम्बन्धी ब्यावहारिक ज्ञान हासिल गर्ने अवसर जुटेको थियो । इलेक्ट्रोनिक्स वस्तुभित्रको कौतुहलता इलेक्ट्रिकल्सतिर मोडिएको मनधारी ब्यक्ति अब आफ्नो दैनिक जीवनमा आइपर्ने घरायसी विद्युतीय समस्या सुल्झाउन सक्ने भैसकेको थियो । जुन त्यतिबेला ठूलै उपलब्धीजस्तै हुन्थ्यो । गाउँमा त्यस्ता किसिमका केही समस्या आइप¥यो भने छिमेकीका नाताले गुहार्दथे । आफ्नो सामाजिक दायित्व पूरा गर्नु मेरो धर्म हुन्थ्यो । एवं रीतले समयले निकै कोल्टे फेरिसकेको थियो । जीवनको बढ्दो उमेरसँगै जिम्मेवारीको पूर्वाभाष भइरहदा एसएलसी उत्तीर्ण भएपछि शहर पसें । परिस्थितिगत अभावहरुसँग सम्झौता गर्दै जीवनको जिम्मेवारी, विवशता र अभिरुचिलाई एक–आपसमा सहमति गराएर जीवनको गोरेटोमा शैक्षिक पाटोलाई एक छेउबाट हिडाउने अनि अर्को कुनाबाट जीवनयापनको जोहोस्वरुप केही गर्नुपर्ने सोंचका साथ म शहर आएको थिएँ । शहरको महंगो समयमा केही सकारात्मक कदम चालिहाल्नुको विकल्प थिएन । गुजाराका लागि सम्भावना र अभिरुचिलाई केलाउदै ‘पश्चिमाञ्चल आत्मनिर्भर टेक्निकल इन्स्टिच्युट, पोखरा’ मा इलेक्ट्रोनिक्स सामग्रीहरुको मर्मत–सम्भारसम्बन्धी तालिमका लागि भर्ना भएको थिएँ । परिस्थितिगत निरीहतालाई भित्र दबाउदा निकै उत्साह आउँथ्यो । उत्कृष्ट सिकाई हासिल गर्दै थिएँ । सिकाईका सिलसिलामा कहिलेकाही उत्साहले सीमा नाघ्दा मैले सोधिदिन्थें, “... सर यो पार्टपुर्जा केबाट कसरी बनेको हुन्छ ? ... के हामी आफैले यहीं बनाउन सक्दैनौं ?”
सर भन्न बाध्य हुन्थे, “... हामीले रिपेयरिङ मात्र जान्ने हो । त्यसकारण हामीले जति सिकाउँछौं, त्यतिमात्र जाने पुग्छ ।”
बीचमा हाम्रो दशैं विदा भएको थियो । सबै दशैंमा गाउँ फर्कदा शहरहरु श्मशानघाटजस्तै सुनसान हुदै गईरहेको अवस्थामा म पनि गाउँ गएको थिएँ । अनावश्यक रुपमा गाउँमा घुम्न मन लाग्दैनथ्यो । घरमा यतिकै बस्न सक्दिनथें । त्यस्तैमा एकदिन म घरमै वायरिङसम्बन्धी केही गर्न खोज्दै थिएँ । ‘हुने हार, दैव नटार’ भनेझैं सावधानीका विधिहरु थाह हुदा हुदै पनि त्यस दिन ती सब गर्न मलाई जाँगर चलेन । आलस्यताले पूर्णतया मिचिसक्दा हेल्चेक््रयाईलाई प्रधान बनाएर काम शुरु गरें । काम सकिनै लाग्दा हात चिप्लिएर अचानक भित्तामा अडिएको विद्युतीय बहाव भएको सुचालक वस्तुमाथि परेछ । म त्यहीं झुण्डिएछु । अस्पष्ट आवाजमा चिच्याएको थिएँ रे । आमाले देख्नुभएछ । अतालिएर सन्तानप्रतिको ममत्वले जान्दा जान्दै पनि मलाई झम्टन आउनुभएछ । जिन्दगीमा मृत्युको मुखमा पुगिसकेको थिएँ । कसो कसो गर्दा छुटेछु । शरीर पूरै शिथिल भैसकेको थियो । नाकबाट तोरीको तेलजस्तो पहेलो तरल पद्धार्थ बगिरहेको थियो । जुन हप्तौंसम्म पनि बगि नै रह्यो ।
त्यसपछिका मेरा दिनहरु निकै निष्फल बने । विद्युतीय झट्काले भत्किएको मानसिकता जहाँ गएपनि पल पल झस्किरहन्थ्यो । आत्मबलमा आएको उच्च ह्रासले लाग्थ्यो, ‘अब मेरो जिन्दगी यतिमै समाप्त भैसक्यो । अब म केही गर्न सक्दिन ।’ एकोहोरो टोल्हाएर बसिरहदा पनि त्यही क्षणको अनुभूतिले डेरा जमाएर स्मृतिमा केही रहदैनथ्यो । खाना खान्थें, खाएको याद हुदैनथ्यो । हिड्न सक्थें र हिड्थें, तर हिडेको थाह हुदैनथ्यो । सुत्न त सुत्थें, तर निदाए ननिदाएको चाल पाउदिनथें । अर्धचेतन अवस्थाबाट गुज्रिरहँदा विस्मृतिका मेरा स्मृतिहरु रोगी भएर थला परेका थिए त्यतिबेला । कसलाई सुनाउने मैले यो ब्यथा ? त्यतिबेला मैले कसैलाई भन्न सक्दिनथें । समय बित्दै जाँदा विदा पनि सकिएछ । म यथास्थानमा फर्कें तर मेरो मनस्थिति पूर्वावस्थामा फर्कन सकेको थिएन । इन्स्टिच्युट जान्थें । पार्टपुर्जासँग खेल्ने मेरा हातहरु तिनको हर स्पर्शमा झस्किरहन्थे । सिकाईमा त्यति मन जागिरहेको थिएन । यद्यपि सिक्नका लागि मोटै रकम बुझाएको सम्झेर जान्थें, एउटा औपचारिकताजस्तो गरेर मात्र । उता आमा मेरै पीर लिइरहनुहुन्थ्यो, ‘यस्तो काम गर्नुभन्दा छोड्दे बाबु !’ एक मनले त भन्थ्यो, ‘जुन काममा ठक्कर खाएँ, त्यसैमा उत्कृष्ट गरुँ ।’ तर ह्रासोन्मुख आतमबलले मलाई कहिल्यै उठ्नै नसक्ने गरी गिराइरह्यो, गिराइरह्यो । मसँग हिम्मत पूर्णतः ह्रास भएको थियो । यस्तो अवस्थामा म के गरुँ ? सिकाईलाई बीचमै छोडूँ या निरन्तरता दिऊँ ?
लाग्छ, त्यतिबेला आमा नभएको भए सायद म आज यो संसारमा रहने पनि थिईन । तर यस धर्तीमा रहेर ज्यूँदो लाससरिको बचाई बाँच्नुपर्दाको पीडासँग म मात्र परिचित छु, एउटा हुतिहारा बनेर ।
सर्वत्रापमानित ‘स्मृतिरोगी’
(पश्चिमाञ्चल आत्मनिर्भर टेक्निकल इन्स्टिच्युट, महेन्द्रपुल, पोखराबाट)

(द्रष्टव्यः पुराना पानाहरु पल्टाउदा आज स्मृति–डायरीमा आजभन्दा झण्डै १० वर्ष अगाडिको कहिल्यै नमेटिने यो कहाली लाग्दो घटनासँग सम्बन्धित लेखन भेटें । जसको सम्पादित अंश तत्कालीन समयमा संस्मरणात्मक रुपमा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जबाट हरेक शुक्रबार बेलुकी प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘मनको चौतारी’ बाट पनि प्रसारण भएको थियो । आज त्यही घटनास्मृति स्मृति–डायरीबाट जस्ताको तस्तै पोष्ट गरिदिएँ, नामर्दको संज्ञाले पोलिरहँदा उपयुक्त पोष्ट सम्झेर ।)
.