Visitor Count

Up Down Scroll

राष्ट्रको अर्थतन्त्रलाई लात हानेर यूएईमा मौलाएको हुण्डीको अवैध कारोवार

११ जुन २०१३ मा विभिन्न ५ नेपालीहरुको नामबाट वेष्टर्न युनियन मनी ट्रान्सफर मार्फत 'Andres De Jesus De Leon Coxas' को नाममा झण्डै २०/२० हजार दिरहाम्स्का दरले एक लाख दिरहाम्स् (वर्तमान विनिमय दरअनुसार करीब ३० लाख नेपाली रुपैयाँ) ग्वाटेमाला विप्रेषण गरियो । विदेशी ब्यक्तिसँग यत्रो ठूलो रकमी कारोवार गर्ने ब्यक्तिहरुको वास्तविक ब्यवसाय के होला भन्ने जिज्ञासाले सताइरहेकै बेला त्यसको झण्डै एक महिनापश्चात नै अर्थात  २४ जुलाई, २०१३ मा सञ्चार माध्यमहरुमा समाचार आयो, ‘अमेरिका हिडेका १० जना नेपालीहरु पक्राउ, ट्रकमा लुकेर छिर्दै...

Illegal Sending of Remittanceजिज्ञासामाथि आशंकाले साम्राज्य फैलाउने खालको घटना घटेपछि कौतुहलताको सीमा रहेन । समाचार जसरी आएपनि मानव तस्करी र त्यो कारोवारबीच कुनै न कुनै सम्बन्ध हुनसक्ने अनुमान मेरो थियो । मलाई यसको बारेमा विस्तृत जानकारी लिन मन लाग्यो र आफै लागें खोजतर्फ आफ्नै तरीकाले । साधन, शैली र अख्तियारविनाको उक्त खोजबाट अन्तर्राष्ट्रिय मानव तस्कर र असामान्य तथा अस्वाभाविक आर्थिक कारोवारबीचको अन्तरसम्बन्धका बारेमा प्रमाणिक एवं आधिकारिक रहस्य खोतल्न त सकेन । यद्यपि पैसा पठाउन प्रयोग भएका नेपालीहरुलाई आर्थिक प्रलोभन देखाई भएको कारोवारको आधारमा मानव तस्करीका वैदेशिक दलालहरुसँगको मिलेमतोमा नेपाली युवाहरुलाई ठग्ने कार्यमा सक्रिय गिरोहसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा यही झुण्डको पनि सहकार्य रहेको अनुमानसहितको निष्कर्ष खोजपूर्ण अध्ययनले निकाल्यो । यो भन्दा अर्को महत्वपूर्ण उपलब्धी त के भयो भने, खोज राष्ट्रको कमजोर अर्थतन्त्रलाई लात हानेर वैधानिक ढंगले सञ्चालनमा रहेका मनी ट्रान्सफर, एक्सचेन्ज तथा रेमिटहरुले दिने गरेको मौद्रिक विनिमय दरभन्दा उच्च मौद्रिक दर दिने प्रलोभनमा यूएईमा रहेका नेपालीहरुमाझ अवैधानिक तरीकाले राजस्व छली गर्दै फस्टाएको हुण्डीको कारोवार गर्ने गिरोहसम्म पुुग्न सफल भयो । खोजबाट के पनि पत्ता लाग्यो भने हुण्डीकर्ताहरुले भन्सार छली गर्दै अन्य गैह्रकानुनी क्रियाकलापहरु जस्तै सुन तस्करी, इलेक्ट्रोनिक सामानहरु जस्तै मोबाइल, ल्यापटप, क्यामेराजस्ता सामाग्रीहरुको अवैध ब्यापारिक कारोवार गर्दै आएको पनि पाइयो ।

प्रसंग–१

एकदिन स्वदेश फर्कन लागेका मेरा एकजना मित्र फोनमा कुरा गर्दै थिए ।
“...एयरपोर्टमा केही समस्या आइप¥यो भने म जान्दिन नि !”
यस किसिमको वाक्यले अचानक मेरो ध्यान खिच्यो । मैले ध्यानपूर्वक सुन्न खोज्दै थिएँ ।
“त्यस्तो केही हुदैन । इन केस त्यस्तो भइहाले पनि समाधानका अरु उपायहरु छन् । तपाई धुक्क भएर जानुभए हुन्छ ।”
“हामीले खास कतिसम्म लैजान पाईने होला र ?” ऊ सोध्दै थियो ।
“लैजान पाईने जति भएपनि १० तोलासम्म सबैले लगिराखेका छन् । भन्सारले अहिलेसम्म त्यस्तो केही गरेको छैन ।”
“अनि २ वटा ल्यापटप लैजान पाइन्छ त ?”
“एउटा ब्यागमा २ वटा ल्यापटप हालेर भिरेपछि त्यहाँ कसले चेकिङ्ग गर्छ ?”
“कसो गर्नुपर्ने हो त मैले ?”

“सामान लिएर जानोस् । तपाई पुग्दा त्यहाँ हाम्रा मान्छेहरु बाहिर आएर बसिसकेका हुन्छन् । तपाई सामान बुझाउनोस् अनि आफ्नो दाम बुझेर हिड्ने त हो नि ।”
अन्ततः १०/१२ हजारको लोभमा ऊ त्यो काम गर्न राजी भयो र त्यसै ग¥यो । न भन्सारल कुनै चाल पायो, न अरु कसैले, न कानुनले अवैधानिक काम भन्न सक्यो ।

प्रसंग–२

निकै अञ्जानपन देखाएर एकपटक मैले त्यस्तै एकजना गिरोहका सहयोगीसँग सोधें,
“हुण्डीबाट पैसा पठाउदा दर पनि धेरै नै पाइन्छ, उस्तै परे एक्सचेञ्जले लिने गरेको मनी ट्रान्सफर चार्ज पनि लाग्दैन भन्नुहुन्छ । आखिर हुण्डीको कारोवारबाट फाइदा कसरी हुन्छ र सर ? मलाई त्यति ठूलो कमाई होला जस्तो त लाग्दैन ।”
उसले हुण्डीबाट करोडौंको कारोवार हुदा मोटो रकम नै फाइदा हुने, त्यसमा पनि सरकारलाई तिर्नुपर्ने कर छल्दा वचत हुन आएको रकम सबै फाइदा नभएर के हो त ? भन्ने तर्क दिदै आफूले जानेसम्मको ब्याख्या सुनायो ।
मैले पुनः अबोधीपन दर्शाउदै जिज्ञासा राखें,
“सुनको मुल्य त जहाँ किने पनि उस्तै हुन्छ होला त ! के फाइदा होला र ?”
“के भन्नु भएको त्यस्तो ? तपाईलाई केही थाहै रहेनछ । १० तोला मात्र सुन भित्राउन सके पनि न्युनतम ६०/७० हजार फाइदा हुन्छ ।”

प्रसंग–३

केही समय अगाडि म छुट्टीमा नेपाल गएको थिएँ । काम विशेषले काठमाण्डौमा रहँदा मलाई केही आर्थिक आवश्यकता खट्क्यो । तत्काल दुबईमा रहनु भएका मित्रलाई ‘पैसा पठाइदिनको लागि’ आग्रह गर्दै फोन गरें ।
भोलिपल्ट त्यस्तै ९/१० बजेतिर ०१ ४३८११७४ बाट मेरो मोबाइल नं मा फोन आयो ।

पैसा आएको जानकारी दिदै पैसा लिन आउनको लागि दिएको लोकेशनका आधारमा गोंगवुस्थित माइक्रो वस टिकट काउण्टर पछ्याउदै त्यहाँ पुगेको थिएँ । ‘युनिफाई टु डे सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’ को नाउँमा सञ्चालित त्यस संस्थाको कार्यालयमा पुगेपछि पठाइएको पैसा हातमा त प¥यो । तर त्यसको कुनै अभिलेख नै थिएन, न रकम हस्तान्तरण गरेको भरपाई नै राखे । कालो सीसाभित्र भित्रपट्टि एकजना भद्र जस्तो देखिने ब्यक्ति टेबलमा एउटा ल्यापटप लिएर सोफामा विराजमान थियो । इन्टरनेटको भरमा त्यहीबाट हुण्डीको अवैध कारोवार भैरहेको थियो ।

यसरी गैह्र कानुनी तवरबाट अवैध कारोवारहरु भैरहदा पनि न तिनीहरुलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छ । न त्यति चासो नै देखाएको छ । युएईका हकमा खुले–आम रुपमा यस्ता किसिमका राष्ट्रघाती अवैध धन्दाहरु आफ्नै आँखा अगाडि भैरहेको देख्दा–देख्दै पनि परिचय–पत्र भिरेर हिड्ने यूएईका पत्रकार महाशयहरुले उनीहरुको विरुद्धमा कलम चलाउन नसक्दा मलाई आश्चर्य लाग्छ । यूएईमा च्याउसरि उम्रेका संघ–संस्थाहरुले देखाउने गतिविधिहरु र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई अतिरञ्जित ढंगबाट समाचार संप्रेषण गर्नुमा मात्रै सीमित हो त यूएईको पत्रकारिता ? राष्ट्रले चौथो अंगको रुपमा स्वीकारेको राष्ट्रप्रति जिम्मेवार पत्रकारिताको धर्म के यतिमा मात्रै सीमित हुन्छ ? त्यसकारण समाज वरपर हुने यस्ता विकृत्योन्मुख गलत कार्यहरुको तपाई हामी सबैबाट विरोधका आवाजहरु बुलन्द हुनु जरुरी छ । अन्यथा सुसंस्कृत समाजको शान्ति, परिवर्तन र विकास कसरी सम्भव छ ?
सर्वत्रापमानित ‘स्मृतिरोगी’
(नोटः प्रस्तुत लेख कसैलाई काल्पनिक पनि लाग्ला । तर विल्कुल यथार्थ हुन् । म ती सबै कुराहरु सार्वजनिक गर्ने आधिकारिकता प्राप्त पत्रकार नभएकाले सम्बन्धित निकायले नै मैले उपलब्ध गराएको फोन नं को आधारमा ब्यक्तिहरु पहिचान गरोस् भन्ने अर्थमा ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छैन । आवश्यक परे संलग्न ब्यक्तिहरुको नाम र विवरणका साथ केही तथ्यपरक प्रमाणहरु पनि उपलब्ध गराउन सक्ने जानकारी गराउदछु ।)
.