Visitor Count

Up Down Scroll

बम बारुद बर्षाउन बाध्य हुनेछन् स्मृतिरोगीहरु

नक्कली,
नकावधारी आवरण ओढेर
सक्कली स्वरुप लुकाएर
अप्रदर्शित,
अकल्पनीय स्वभाव प्रदर्शन गर्दै
अदृष्य मानव बनेर
Bomb Barud, Banduk
अपरिचयको पर्दा लगाएर
जव जिन्दगीको रंगमञ्चमा
नाटक मञ्चनका लागि
नौटंकी नाटककर्मी जालन्धरहरु आए,
तिनका नाटकीय कलामा,
ब्यंग्यात्मकतामा,
विरोधमा,
शैलीमा
एउटा चरित्रपात्र उजागर गरिएको थियो–
‘स्मृतिरोगी’

ब्यंग्यात्मकताको स्वादन गर्दै
उपहासको आगोमा घिउ थप्दै
दर्शक
प्रदर्शक
सबै
मनोरञ्जन लिइरहेका थिए ।
ब्यंग्यभित्र अल्झिएका मनहरु
एक–अर्कालाई दोषी नजर लगाउदा
वैरभावमा वृद्धि हुँदा,
बनेको विकराल वस्तुगत स्थिति
अझ बिगार्न बाध्य थिए ।
विवशताले बन्द बाटाहरुमा
मजस्ता लोदर लाटाहरु लड्नुपर्दा
उठाउने को हुन्थ्यो र ?
कोही थिएन ।
बरु थिए त,
लुटाउने,
कुटाउने
र फुटाउनेहरु मात्र ।
जसले लुटाए,
जसले कुटाए,
र जसले फुटाए,
उनीहरुले उता तुच्छता प्रदर्शन गर्दै
नीचताका संज्ञाहरु र ब्यवहारहरु प्रस्तुत गरे रे ।

गहिरो मन गडेको मुटु
घात, प्रतिघातलाई प्रश्रय दिदै
प्रतिवादमा उत्रिएपछि
स्थितिले अर्कै रुप लिनपुग्यो ।
मानव, अमानवका सारा अपशब्दहरु ममाथि बर्षिए रे ।
यता साहित्यिकताको स्वाँगमाथिको हस्तक्षेपमा हाँसेका हाडहरुले
आवाज ओकले, “साहित्यिक बुद्धु !”
वाकपटुताको असक्षमतामा अल्पभाषी
अक्क न बक्क परेर हेर्न बाध्य हुँदा
विजेता बनेका बहुरुपीहरु वाद्यवादनमा जुटिरहे ।
मनोरञ्जनको मसला बन्नुपर्दाको अमिलो स्वादमा
ब्यथित मनहरु आ–आफ्नै ध्रुवीकृत संसारहरुमा
आँसुका धाराहरु बगाइरहँदा
बाठो बनेर बठ्याई गर्ने अवसरवादीहरुलाई
आम्दानीको सुनौलो अवसर जुटेछ ।

वैदिक मन्त्र जपेर
भित्र–भित्र बलात्कारी बन्ने ब्रह्मचारी चरित्रधारी
ती जनसुरक्षाको अभिभारा बोक्ने भेडा र बोकाहरुको लागि पनि
विशिष्टता हासिल गर्ने अवसर मिलेछ ।
कानुनको बर्खिलापमा न्यायको मोल–तोल गर्दै
‘जा शस्त्र’ र ‘साथ शस्त्र’ को काशनमा म्याग्जिन पिटेझैं
राइफलको म्याग्जिन बजाएर तेस्र्याएको ब्यारेलले धम्क्याउदै
सुरक्षाघेराभित्रै मागे रे, ‘पैंतीस हजार !’
अमानवीय ब्यवहारको त्रासदीपूर्ण स्थितिमा
‘ऐनविपरीतको एकदिन’ भोगिसकेका
स्थानीय एक सोझो सर्व–साधरण वृद्ध
बुढ्यौली स्वरमा काँप्दै भन्न बाध्य थियो रे, “हुन्छ, दिन्छु ।”
‘गोडा फाट’ र ‘सतर्क’ को काशनमा गोडा बजार्दा–बजार्दै
थर्किएर थाकिसकेका गिदी बोकेका गधाहरुले
मागबमोजिमको रकमी भारी कुम्ल्याएपछि
फेरि रिवल्वर देखाउदै चेतावनी दिए रे,
“खबरदार ! कसैलाई भनिस् भने !”

खोरभित्र बसेर खाईलाग्दो बनेका खसी र बोकाहरुको बर्बरता,
मुढे बलको बलवानी र मूर्खताको रवाफमा ओकलेको वाक्य
‘ढाड भाँचिने गरी गोदेपछि सब ठीक हुन्छ’ सम्झँदा
आज पनि आगो ओकल्न मन लाग्छ र
सोध्न मन लाग्छ,
‘के जनसुरक्षाको जिम्मा लिनेहरुको काम यसरी नै आतंकित बनाउने हो ?
के तिमीहरुको कर्तब्य र अधिकार यही हो ?
तिमीहरुको यस किसिमको गैह्र–मानवीय ब्यवहारले मानव अधिकार र कानुनी मान्यताको पालना ग¥यो ?
किन भैरहेछन् यहाँ अन्याय र अत्याचारहरु ?
किन बगिरहेछन् यहाँ पैसाका खोलाहरु ?
किन घटिरहेछन् ससुरा–बुहारी काण्डहरु ?’
छ केही जवाफ ?
त्यसैले,
शान्तिसुरक्षाका पहरेदारहरु हो,
अशान्ति मच्चाउने तिमीहरु नै हौ,
समाजमा विकृति बढाउने तिमीहरु नै हौ,
भ्रष्ट र भ्रष्टाचारी तिमीहरु नै हौ,
न्याय बेचेर अन्यायलाई सुरक्षा दिने तिमीहरु नै हौ,
विद्रोह र आतंकको बीउ छर्ने तिमीहरु नै हौ ।

गणतान्त्रिक अभ्यासमा अग्रसर बनेको मुलुकमा
गणतन्त्रको गन्धसमेत नभेटिने गरी
मालिक बन्ने महत्वाकांक्षामा
माग्नेदेखि मुठ्याउनेसम्मको हर्कत गर्ने
सामन्तवादका मतियारहरुको जरा
जवसम्म उखेलिदैन,
तवसम्म यहाँ
सुरक्षित रहनेछ अवैधानिकता,
चालू नै रहनेछ रकमी न्यायिक कारोवार धन्दा
घटी नै रहनेछ ससुरा–बुहारी काण्डहरु
तर सावधान ! साला शैतानहरु
भ्रष्टहरुको भण्डाफोर अवश्य हुनेछ
तिमीहरुको पोल म अवश्यै खोल्नेछु
यस्तै स्थिति जारी रहे
अन्यायमा परेका स्मृतिरोगीहरु
रक्तपात मच्चाउदै
तिमीहरुको किल्लाहरुमाथि धावा बोल्दै
बम बारुद बर्षाउन बाध्य हुनेछन्
तिमीहरुको विरुद्धमा
विद्रोही बनेर ।

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.