Visitor Count

Up Down Scroll

आफूलाई चिन्नुस्-


पुष माघको ठण्डीले मुटुमा कम्पन छुटेको थियो। विद्यार्थी भाई बहिनाहरूको ओठ निलो भएको थियो। मैले सोचें-बाहिर चौरीको पारिलो घाममा राखेर पढाउनु पर्‍यो। त्यसपछि म मेरा विद्यार्थीलाई लिएर चौरीमा आएँ।

र कथा सुनाएँ। कथाको सारतत्व बाँकी थियो। त्यो विद्यार्थीहरूलाई बुझाउन अत्यन्तै आवश्यक थियो। म भट्याउँदै गएँ-हेर भाई बहिनाहरू हो, पहिला हामीले जीवनमा के बन्ने?के गर्ने?आफ्नो रुचि केमा छ?त्यो राम्ररी बुझ्नुपर्छ। त्यसपछि आफ्नो लक्ष्य तय गर्नुपर्छ। लक्ष्य तय गरे पश्च्यात त्यसलाई निरन्तरता दिनुपर्छ। कोहि व्यक्ति पनि आमाको पेटबाट डक्टर, इन्जिनियर, पायलट, नर्श, व्यापारी, वैज्ञानीक, हाकिम,साहित्यकार माष्टर,न वरिष्ठ न कनिष्ठ कुनै पदको र उँच निचको लेभल टाँसेर जन्मलिदैनन्। मात्र केटा अथवा केटी भएर जन्म लिन्छन्। यै पृथ्वीमा आएर सबैले आफ्नो रुचि अनुसारको लक्ष्य तय गर्छन्। र त्यही अनुसार मेहनत गर्छन्!कसैले आफ्नो लक्ष्य पूरा गर्ने सिंगो जीवन खर्चिन्छन्। ...

अचानक कताबाट टुप्लुक्क एकजना बटुवा आएर उफ्रिन थाल्यो-यस्तो नचाहिँदो शिक्षा दिने। बरु विदेश गएर विदेशीहरूको स्यहार सुसार गरेर कसरी डलर कमाउन सकिन्छ भनेर सिकाउदा फाईदा हुन्छ?" बच्चाहरूलाई समय सापेक्ष शिक्षा दिनु छैन। खालि बकवास आदर्श भट्याएर कमजोर बनायो। यस्तै शिक्षाको लागि तलब मिल्छ सरकारबाट? म छाती ठोकेर भन्छु-यो नेपालमा जति पसिना र रगत बगाए पनि केही हुदै हुदैन।

मेरो पनि रिसको पारो नियन्त्रण गर्न नसक्न गरि बढ्यो। मैले भनें-पहिलो कुरा त म तपाईलाई चिन्दिनँ। दोस्रो कुरा तपाईको निरासा पोख्ने ठाउँ होइन यो। यो पाठशाला हो। केही हुदै हुदैन,भनेर रक्सी भट्टी, चिया पसल,जुवा घरमा गफ चुटेर बस्ने समय कुनै राम्रो काममा खर्चिनुस्। जो असल र मेहनती छन् तिनको दैनिकी हेर्नुस्। गर्दा के हुदैन?व्यक्तीसँग बलियो इच्छा शक्ति,आत्माविश्वाश,जोश् जाँगर र लगानी अनि धैर्य हुनुपर्छ। यदि गर्दा केही हुदैन थियो भने ईतिहास पल्टाएर हेर्नुस् त!

क्रुर तानाशाही हिटलरले लगाएको कालको पर्खाल भत्काएर यहुदीहरूले आफूलाई बचाएर इजरायल जस्तो सुख्खा मरभूमिमा स्वर्ग उभ्याए। आ! आखिर मरिहालिन्छ भनेर हिम्मत हारेका भए आज यहुदीको बंशज रहदैनथ्यो।

हाम्रो देशमा प्राकृतिले दिएको सबैथोक छ। मात्र एकताको महत्व बुझेर कार्य गर्नेको खाँचो छ। हामी पहिला आफूभित्रको शक्ति नाप्नु भन्दा अगाडि संसारको नराम्रो कुरालाई औंल्याउदै दुखि बन्छौं। अनि कसरी हाम्रो प्रगति उन्नतिको मार्ग फराकिलो हुन्छ?त्यसैले त हाम्रो देशमा पाँच प्रतिशत व्यक्तिले पन्चानब्बे प्रतिशत व्यक्तिलाई पैतालामुनि कुल्चेको अवस्था छ। उठनुस्! जाग्नुस्! आफूलाई चिन्नुस्। अनि हेर्नुस्,गरेर के हुदैन यहाँ?

गीता थापा
.