Visitor Count

Up Down Scroll

प्रगतिशील अभियानमा जुटिरहेछ

बाध्यता र विवशतामा बाँचेका
बहिरा, लाटा र लंगडाहरुलाई
मौद्रिक अवमूल्यन र मुद्रास्फीर्तिले
आम अर्थतन्त्रहरुमा
आकाश–पातालको अन्तर आउँदा
लखपतिको लोभ देखाएर
करोडपति र अरबपतिहरु
कौडीमा काम लगाएर
समय सीमांकन नगरी
श्रमिकहरुको शोषणबाट सम्भ्रान्त बनेर
शासक बन्दैछन् ।

चेतनाको अभावमा चुकेका
विचार,
तर्क
र प्रतिवादका
बौद्धिक गरीबहरु
स्वार्थको खेतीमा खलगै बिर्सिएर
खण्डीकृत छन् ।
राष्ट्रियताभित्रको रोग बल्झाएर
प्रतिगमन र पतनको दिशातर्फ दौडिरहेछन् ।
दबेका दमका रोगीहरुलाई अझ दबाउन
आफै दमित भएर दमनको चाल नपाउने चण्डालहरु
दम्भको अदुरदर्शी औकात देखाउदैछन् ।
आँखाको अगाडि अर्काको आँसु देख्न नसक्ने समाजबाट
उठेका प्रतिनिधि उम्मेदवार मनहरु
मानवताको मर्म, धर्म र समवेदना भुलेर
समकक्षी र सहोदर साइनोको आसन्नता सिध्याएर
आफ्नै सजातीयहरुलाई
षडयन्त्रको चक्रब्यूहमा चुर्लुम्म पार्नेसम्मको हर्कत देखाएर
चाकडी गर्न तल्लीन छन् ।

माडपानीको मुहान खोज्दै खाडी छिरेका
खोरियाको खर खुर्कन नपुग्ने
खेतालाभित्रका खानदानी खलगहरुमा
कोही चारतारे झण्डा बोकेर
वन फँडानी गर्दै रुख रोप्ने नारा लगाउछन्,
कोही मरुभूमिमा असारे गीत बजाएर
वेमौसमी रोपाईमा
हिलो छ्यापाछ्याप गर्छन्,
क्रान्तियात्राका पथहरु पहिल्याउदै
क्रान्तिमार्ग निर्माण गर्न तम्सेकाहरुको तरक्कीमा
कोही हँसिया र हथौडा समाउन पुग्छन्
र क्रान्तिका कडा का’शन दिएर
सामन्तको सामू तर्कवितर्क गर्न आफूलाई
सामाजिक नैतिकताले नदिने भनाई राख्छन्
अनि क्रान्तिमा त्याग, समर्पण र वलिदानीको ब्याख्या गर्दै
भन्न थाल्छन्,
‘क्रान्तिपथको मार्गचित्रमा पर्नसक्ने मेरो जग्गा जसरी भएपनि जोगाउनुपर्छ ।’
नवीन निर्माणका लागि पुरानो संरचना ध्वस्त पार्नैपर्छ भन्दै
मार्गविस्तारमा अगाडि खडा भएको पहरा फोर्न
साथको हथौडा प्रयोग नगर्ने रे,
आफू ओझेलमा बसेर
सडकमा समर्थकहरु ओरालेर
ढुंगै–ढुंगा बर्षाएर नारावाजी प्रदर्शन गर्न सक्नुपर्छ रे ।
मलाई भन्न मन लाग्छ,
‘थुक्क बुर्जुवा अनि आदर्शवादी क्रान्ति !’
भौतिक द्वण्दवादपछिको जनवादी सर्वहारा अधिनायकवादको सैद्धान्तिक मार्ग बिर्सेकाहरुले
सामन्तवादकै चाकडीको चंगुलमा फसेर
खै, कुन आमूल परिवर्तनको सपना देख्छन् ?
स्वार्थको संकीर्णताबाट माथि आउन नसकेकाहरु
कोही सैद्धान्तिक विचलनमा बतुराउँछन्,
र द्धैध चरित्र प्रदर्शन गर्न थाल्छन्
पवनको दिशासँगै
कहिले पूर्व ढल्कन्छन्,
कहिले पश्चिम,
कहिले उत्तर,
अनि कहिले दक्षिण पनि ।
सायद अब छिट्टै उनीहरु गाउँ पनि छिर्लान् ।
तर खबरदार !
गास, बास र कपालको ग्यारेन्टी गर्न नसक्नेहरु
प्रकृतिले बर्षाएको वर्षाको जस लिदै
फेरि मौसमी वसन्तमा मगमगाउने
सुवासनाहरु छर्ने आश्वासन दिदै
वहानाका बोलीहरुले गाउँ थर्काउन
कोही आउनुपरेको छैन यहाँ ।

हिजो चोरिएका चावी र चीजहरु बेच्दै
लुटको लौरो समाएर
प्रारम्भ भएको यात्रा
पजेरो,
ल्याण्ड क्रुजर
तथा रेञ्ज रोवरसम्म आइपुग्दा
श्रमको सम्मानमा
श्रमिकहरुप्रति सदभाव र समझदारिता कायम राख्न
सक्ने स्यालहरु सिंह बनेर गर्जदा
अर्को सिंहनाद निकाल्न मन लाग्छ
र सोही प्रयास गर्छु ।

तर,
मेरो प्रयासमा
रिहर्सलको रटाईमा
तातेका तन्तुहरुको तापले
तात्न पुगेका रक्तनसाहरु देखाएर
तिनै क्रान्तिका कुरा गर्नेहरु
प्रतिक्रियावादी र विस्तारवादीहरुसमक्ष
त्यसलाई मूर्खता, उद्दण्डता र उच्छृङ्खलताको संज्ञा दिदै
अपब्याख्याको प्रतिवेदन पेश गर्न पुग्छन् रे ।
कोही प्रगतिशीलताको अभ्यास देख्न नसहेर
चिढिएर
द्धेष बोकेर
मनोक्रान्तिको
अग्रगामी अभियानलाई
अब्यावहारिक र अजिम्मेवारीपनको संज्ञा दिन्छन्
परन्तु,
स्मृतिरोगीहरु
प्रगतिशील अभियानमा
जुटिरहेछन्,
निरन्तर, निरन्तर


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.