Visitor Count

Up Down Scroll

किन आउछस् याद मलाई रुवाउन

विभिन्न असहमतिका वुँदाहरुमा सहमति गर्ने प्रयासका वावजूद पनि वार्ता भंग भई उनीसँग बिछोडिएपछि निरर्थक जीवन लिएर घर, परिवार, आफन्त सब त्याग गरी गन्तव्यहीन यात्रामा निस्किएको यात्री म । कहाँ जाने, के गर्ने, के खाने, केही निश्चय थिएन ।

बसस्टपमा पुग्दा यात्रुहरुको प्रतिक्षामा लामवद्ध रहेका यात्रुबाहक गाडीहरु छुट्ने तरखरमा देखें । बसका कन्डक्टरले चिच्याउदै थियो, कुनै ठाउँको नाम फलाकेर । पूर्व जाऊँ या पश्चिम जाऊँ भन्ने अन्यौलपूर्ण मनको द्धिविधा चिर्दै अनायासै पूर्वतर्फ फर्केको एउटा गाडीभित्र छिरें र एउटा सिट पनि ओगटी हालें । केही समयमै गाडीे विस्तारै अगाडि बढ्यो र आफ्नो रफ्तार कायम गर्दै विभिन्न घुम्ती र दोवाटोहरु पार गर्न थाल्यो । भावावेगका छालहरु मभित्र उठी नै रहेको थियो, जसले कतिबेला यी आँखाहरु सजल हुन्थे, पत्तै पाउदिनथें । देख्ने र पीडानुभूति गर्न सक्नेहरुले भग्न र दग्ध हृदयको ब्यथानुभूतिको सहजै अनुमान लगाए होलान् । तैपनि त्यो हालतमा आफूलाई अन्य यात्रुहरुको नजरबाट जोगाउने प्रयत्न गर्दै सम्हाल्न खोज्थें ।

बसमा रहेका यात्रुहरु आ–आफ्नै तरीकाले यात्रारत थिए । कोही आपसमा कुरा गरिरहेका थिए । कोही प्रविधिको उपहारका रुपमा हातमा परेको आधुनिक प्रचलनमा रहेका मोबाइलबाट कानसम्म पुग्ने इयरफोनको ठोसो कानमा ठोसेर मौनतामा रमिरहेका थिए । सबैको योजना थियो, गन्तव्य थियो, लक्ष्य थियो । तर ती यात्रुहरुको भीडमा म एक्लो मात्र त्यस्तो ब्यक्ति थिएँ । जसको कुनै निश्चित लक्ष्य, योजना र गन्तब्य थिएन । वैराग्यताले विक्षिप्त बनेको म मौनताभित्र भावना र वेदनाका संवेगहरुसँग बरालिएर कहिले वगरको कल्पनामा कहालिन्थें त, कहिले नगरको सपनामा सम्हालिन्थें । मन र मष्तिस्कसँगको सोझो सञ्चारमा खेल्न पाएका ती निस्फिक्री भावनाहरुसँग रुँदा र रम्दा ख्यालै गरिएनछ, गाडीले लामै दुरी नाघिसकेको रहेछ । गाडीको घट्दो गतिसँगै वास्तविकताले भत्काएको भावनात्मक संसारभित्रको मेरो एकतमासपन पनि भंग हुन पुगेपछि बाहिरतिर हेरें । सुन्दर घरअगाडि सजावटयुक्त गाडीहरु र कार भर्खरै रोकिएका जस्ता देखिन्थे । बाजाको सुमधुर ध्वनि आइरहेको थियो । जुन सबैलाई रमझमपूर्ण लागेपनि यो स्मृतिरोगीलाई पट्यार लाग्दो लागिरहेको थियो । जन्तीहरु भर्खरै गाडीबाट झर्दा सडक पूर्ण रुपमा भरिएको थियो । जसका कारण गाडीको गतिह्रास भएकोे थाह भयो ।

गाडीको झ्यालबाट विना अर्थ भीडतिर टोलाइरहेको थिएँ, अचानक मेरो नजर कारमा पुगेछ । वेहुला–वेहुली कारबाट ओर्लदै थिए । दृष्य मलाई अपत्यारिलो लाग्यो । ‘हँ, म सपनामा त छैन ?’ चिमोटेर आफैसँग प्रश्न गरें । भ्रमपूर्ण स्थितिमै फेरि प्रश्न गरें, ‘किन मलाई यस्तो भइरहेछ ?’ आखिर दृष्य वास्तविक थियो, भ्रम थिएन । घुम्टोभित्र लुक्ने सुन्दर नारी मुहार तिनै मेरी हुन नसकेकी प्रेमिकाको थियो । उनले त देखिनन् तर मैले गाडीभित्रबाट उनलाई निकैबेर हेरिरहें, हेरिरहें । हेर्दा हेर्दै मभित्र के के भयो, भयो । रिंगटा लागेर आयो । टाउको बोझिलो भयो । सिटमा अडिन नसकेर वेहोसीमा डंग्रङ्ग अगाडिको सिटमा ठोकिन पुगेछु । ब्युँझदा म त सपनामा पो रहेछु । उठेर मनमनै भनें, ‘किन आउँछेस् सपना तँ, मलाई यसरी रुवाउन ?’


सर्वत्रापमानित ‘स्मृतिरोगी’
(अहस्तान्तरित उपहारको केही अंशमा विहानीको सपनाको दृष्य सम्मिश्रण गर्दै)
.