Visitor Count

Up Down Scroll

बुर्जुवा शिक्षाको प्रभावकारिता

भालेको डाँकसँगै
बस्तीहरु ब्युँझेर
टुकीहरु बल्न थालेपछि
आमा भन्ने गर्नुहुन्थ्यो,
“विहान भयो बाबु ! उठेर पढ् ।”
मीठो निंद्राले मस्तसँग मायाँ गर्दा–गर्दै
मायाँलाई कठोरतापूर्वक झट्कारेर ब्युँझदा
माताका ममतामयी हातहरु
मलाई झक्झकाइरहेका हुन्थे ।


आध्यात्मिकताबाट विकसित
सिकाई शैलीको अनुशरण गर्दै
केही शैक्षिक रटानपश्चात
खोरियाबारीको भीरबाट
एक भारी घाँस ल्याइसकेपछि
हतार हतार
उसिनेका खाद्यान्नहरु
पेटभित्र छचल्काउदै
सरस्वतीको मन्दिर पुग्थ्यौं र
सामुहिक भजनगान प्रारम्भ हुन्थ्यो ।
शिक्षाका धर्मगुरुहरु
आफ्नो धर्मको पालना गर्दै
प्रवचन दिन्थे ।
बुर्जुवा शिक्षाको बासी भैसकेका
ती प्रवचनहरुमा पठित
शुत्र, साध्य र सिद्धान्तका भजनहरु
हामी खुब रट्थ्यौं ।

गणितमा
अंकगणितीय,
बीजगणितीय,
सुत्रहरु
त्रिकोणमितीय शुत्रभित्रका
Sin, Cos, Tan लगायत
Cosec, Sec, Cot का शुत्रसञ्जालहरु
त्यस्तै ज्यामितीय साध्य र सिद्धान्तहरु
सर्लक्कै निल्थ्यौं ।
नेपाली र अंग्रेजी भाषिक विषयका
ब्याकरणहरु तथा साहित्यहरु
बुझेर हैन, घोकेर सिकिन्थ्यो ।
विज्ञानमा
भौतिक विज्ञानका
बल, गुरुत्वाकर्षण
र चालसम्बन्धी सर आइज्याक न्युटनका
चापसम्बन्धी पास्कलका
धाराविद्युत र चुम्बकत्वसम्बन्धी माइकल फाराडेका
अनि
नाप,
यन्त्र,
ध्वनि,
ताप तथा विशिष्ट तापधारण क्षमता
र विद्युतचुम्बकीय तरंगका
नियम, सिद्धान्त र शुत्रहरु
त्यस्तै,
रासायनिक विज्ञानका
तत्व, अणु, संयुज्यतादेखि
आणविक शुत्र–समीकरण हुदै
प्रायोगिकदेखि औद्योगिकसम्मका विधिहरु,
त्यसै गरी
जीव विज्ञानमा
कोषदेखि क्रोमोजोमसम्म
वर्गीकरणदेखि उत्परिवर्तनसम्म आइपुग्दा
चाल्र्स डार्विनका क्रमविकासका घत लाग्दा सिद्धान्तहरु,
भू तथा ज्योतिष विज्ञानका
भूउत्पत्तिदेखि ब्रम्हाण्डसम्म
दिन, महिना र वर्षहरुसम्म
लगायत यावत अध्ययनहरु
पूनर्ताजगीको अपेक्षा गर्दै
आज पनि मानसपटलबाट मेटिन मान्दैनन् ।

यद्यपि,
निकम्मा,
अब्यावहारिक,
अवैज्ञानिक
बुर्जुवा शिक्षाले बाँडेका
धुवाँले खाइसकेका
प्रमाणपत्रहरका चाङ
एकातिर थन्काएर
खाडीको खडेरीमा
खब्बुस खादै
खंग्रङ्ग परेको शरीर
पसिनाले लुछ्रुप्प भिजाएर
‘हम्दुरिल्लाह ! माफी मुश्किला मुदिर ।’
जस्ता टुटेफुटेका अरबी भाषाहरुमा
मरुभूमिको तातो–रातो वालुवामाथि
गैंची र वेल्चा बजारी रहेछु ।
गैंचीको कोणिक हनाईमा
त्रिकोणमितीय र ज्यामितीय शुत्र र साध्यको प्रभावकारिता खोजिरहेछु ।
बेल्चाका विंडहरुमा मोमेन्टको नियम दाँजिरहेछु ।
लागेको बलमा
'F = ma' को शुत्र सजाइरहेछु ।
अनि तातेका मष्तिस्कहरुमा आउने
विचार, सोंच र अधुरा कल्पनाहरुमा
'E = mc2' को शुत्र लगाउदै
एसीको आनन्दमा मस्त निदाइरहेको हुन्छु ।

अचेल,
कहिलेकाही
मेरा मष्तिस्कहरुमा
टोनी बुजानहरु
विश्व प्रसिद्ध ‘युज युअर हेड’ लिएर आउँछन्
र देखाउदै सोध्न थाल्छन्,
“तैले पढेको शिक्षामा मष्तिस्कसम्बन्धी त्यस्तो केही थियो, जसले सिक्ने, सोच्ने र स्मरण गर्ने तरीकामा मद्धत गथ्र्यो ?”
म आश्चर्य मान्दै भन्न बाध्य हुन्छु, “थिएन होला त्यस्तो त ।”
ऊ अझै सोध्दै अगाडि बढ्छ,
“तैले लिएको शैक्षिक पाठ्यक्रममा मष्तिस्क र स्मरणशक्तिले कसरी कार्य गर्छ भन्ने बारेमा थियो ?
अध्ययन गर्ने र सिक्ने अनेकौं टेक्निकल तरीकाहरुको बारेमा ती शैक्षिक संस्थाहरुका केही सिकाइएको थियो ?
क्षमता, एकाग्रता, कल्पना र धारणाका बारेमा विश्लेषणात्मक पाठ्यवस्तु समावेश थियो तेरो शिक्षा प्रणालीमा ?
सोच्ने प्रकृया र रचनात्मकताको बारेमा पढिस् ?”
लगायत त्यस्तै थुप्रै के के सोध्दै थियो ऊ, मैले बुझिन ।
मात्र चुपचाप,
अबोध बालकझैं भएर
‘छैन’ भन्ने अर्थमा असहमतिको शिर हल्लाइरहन बाध्य हुन्छु ।

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.