Visitor Count

Up Down Scroll

दुःख, वास्तवमा तँ नै मेरो सच्चा साथी रहेछस्

जड आस्थामा जकडिएर
पश्चगामी मुल्यांकनमा
वहुमुल्य ठानिएको,
हातबाट हुत्तिएर हराईसकेको ‘हीरा’ अनि ‘हार’ मा
जिन्दगीको हलो अड्किरहदा,
अनायासका ब्यथित पीडा र प्रताडनाले
अग्नि ज्वालाभित्र जल्दै गर्दा
आफू ज्यूँदो भए–नभएको समेत बिर्सिसकेको स्थितिमा
एक्लै, एकान्तको आश्रयमा बस्दा,
जुलुम भएको जीवनको अन्यौलतामै
एकदिन म गहन सोंचमग्नतामा डुबें ।

मेरा छट्पटाइरहेका अन्तरदृष्टिहरु
आत्मा नै आत्तिएर अधिनमा बस्न नमान्दा
अस्पष्टताभित्र
आँधीझै उर्लिएका सभ्य, असभ्य अनगिन्ती भावनाहरु
नियतिको कठोर प्रहार सहन नसकेर
टुक्रा–टुक्रामा विभाजित छरपष्ट हृदयका क्रन्दनहरु
र विक्षिप्ततामा बर्बराईरहेका चेतनाशून्य मष्तिस्कका नसाहरु
एकाएक शान्त हुन पुगे र
अस्वस्थ शब्दाकृतिहरुले विकृत
कालाम्य मुखबाट
आफ्नै अल्पात्मज्ञान र चेतनाहीनताको खिल्ली उडाउदै
सुनसानमा निर्जनताको पर्दाफास गर्दै
एक झोक्का दमित हाँसो
नचाहदा–नचाहदै पनि
फुत्त बाहिर निस्कन बाध्य भयो ।
हाँसोप्रतिको तुच्छतालाई पन्छाएर
म अझै बढी हाँसे र मनमनै बोल्न थालेछु,
“‘दुःख !’
वास्तवमा तँ मात्र मेरो सच्चा साथी रहेछस् ।

यस धर्तीमा प्रवेश गर्ने क्रममा
प्रसव पीडामा छट्पटिइरहेको
मातृत्वलाई पनि साथ दिएकै होस्
त्यसपश्चातका खण्डित समयका सिरेटोहरुमा
खपेका भोकमा,
भोगेका अभावमा
गरीवीको रापमा
वर्गीकृत सामाजिक प्रभावमा
परम्परागत साँस्कृतिक प्रचलनमा
षड्यन्त्रको शिकार भएर
जस्तै जाली, वेइज्जती र अपमान सहनु परेपनि
तैले नै साथ दिएको थिईस् ।

जीवनयात्राका जंघारहरुमा
गरेका संघर्षहरुमा
खडा भएका बाधा–अवरोध अनि प्रतिकूलताका पहाडहरुमा
सुख र खुशीको खोजी गर्दै
जिन्दगीको भोटे ओडारको सपना देखेर
स्वार्थै–स्वार्थको पछि लाग्दा पुगेका मुग्लानहरुमा
बगेका रगत अनि पसिनाका आँधीखोला, सप्तकोशी र सप्तगण्डकीहरुमा
आँसुको सूलिगढ झरनाहरुमा पनि
तँ साथमा नै थिईस् ।

प्रेमका रहर लाग्दा पालुवाहरुले
वसन्तको वहार बोकी
जिन्दगीमा ज्योति छर्दा
यथावत अवस्थितिमा
सूर्यको उपस्थितिमा
तारापुञ्जका प्रकाशहरु
निरीह बनेर बिलाएझैं
तँ पनि विलय हुन बाध्य हुन्थिस्
सायद त्यो बेला मैले तेरो उपेक्षा गरेको थिएँ ।
यद्यपि
जब हाँगाभरिका हरिया प्रेमका पातहरु
अनपेक्षित ढंगले
खंग्रङ सुकेर खसेपछि
उजाड शिशिरले आक्रमण गथ्र्यो र
तुषारापातले तहस नहस बनाएर
तुच्छता र कुरुपताले राज गर्दा पनि
तैले नै साथ दिएको थिईस्

आज,
अन्धकारमा
अगुल्ठो लिएर
अड्कलका अर्धदृष्य र अदृष्य
आकृतिहरु छाम्दै
अनन्तयात्रामा अगाडि बढिरहदा
दुनियाको दौलत मोहबाट
दुरगामी क्षितिजमा छेउ लाग्दा
छाडेका यादहरु छचल्किए पनि,
छिमलिएका मुटुहरु भक्कानिएपनि,
प्रेमातंकले खुशीहरुको भागादौड मच्चिदा
मक्किएका
मरुभूमिका मिश्रित माटोहरुमा
महंगो जीवनलाई सस्तोमा बेच्दै
अवमूल्यन गर्न बाध्य बैंशालु उमेरले
अघाएर ओझेल पर्न खोज्दा पनि,
तैले नै साथ दिइरहेको छस्
र विश्वस्त छु
आगामी अगाडिका
अन्धकारहरुमा पनि
साथ दिइरहनेछस्
निरन्तर, निरन्तर
किनकि तँ नै मेरो सच्चा साथी होस् ।


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

.