Visitor Count

Up Down Scroll

के राष्ट्रप्रति जिम्मेवार पत्रकार महासंघसँग जवाफदेहिता छ ?

“सर आज हुन्डीमा रेट कति छ ?” अभिवादनको औपचारिकता सकिनासाथ उसले सोध्यो, म छक्क परें ।
“त्यस्तै सत्ताइस दश/सत्ताइस पन्ध्र दिन मिल्छ, सत्ताइस भन्नोस् न । ......कति छ र एमाउण्ट ?”
“एमाउण्ट त सबैको गरेर जम्मा पन्ध्र÷बीस जति मात्र हुन्छ होला । ....त्यहाँ दुई÷चार जनाले पठाउने भन्दै थिए के ।”
माथि प्रस्तुत वार्तालापका वाक्यहरु कुनै कल्पना गरेर लेखिएको वाक्य नभई हाम्रै परिवेश वरिपरि बोलिएका वाक्यहरु हुन् । प्रकृतिले यस्ता मानवीय क्रियाकलापहरुमाथि निगरानी राख्न मानवीय ताण्डव नृत्य प्रस्तुत भइरहने हर स्थानहरुमा प्राकृतिक रुपमै स्वचालित मूर्त ‘भ्वाइस तथा भिडियो रेकर्डर’ राखिदिएको भए आज मैले त्यसलाई ‘रिप्ले’ गरेर सबैसामू प्रदर्शन गराईदिन सक्थें । तर प्रकृतिको यस किसिमको कमजोरीमाथि फाइदा उठाउने प्रयासमा मानिसहरु दिन प्रति दिन तल्लीन छन् । अझ प्रकृतिकै सिर्जना मानिसबाट प्रकृतिको नियमहरुलाई चुनौति दिदै प्रकृतिमाथि विजय हासिल गर्ने असम्भव प्रयास यहाँ भईरहेको छ ।
आफूलाई ‘पत्रकार हुँ’ भन्न रुचाउने एकजना परिचित महानुभावबाट अचानक अप्रत्यासित रुपमा अनपेक्षित यस्ता अवैधानिकतालाई प्रश्रय दिने खालको वार्तालाप सुन्नुपर्दा म एकपटक त झसंग भएँ । पत्रकार र पत्रकारितामाथिको मेरो उच्च सम्मान, विश्वास, श्रद्धा र आस्था एका–एक वेहोस भएर डङ्रंग ढल्यो । यसले मलाई सिंगो पत्रकारिता जगतमाथि नै प्रश्न चिन्ह उठाउन बाध्य बनायो ।
म सोच्दथें, राष्ट्रले चौथो अंगको रुपमा स्वीकारेर सम्मान दिएको पत्रकारिताभित्र आवद्ध ब्यक्तिहरुमा बौद्धिकता, वैचारिकता र परिस्थितिगत विश्लेषणात्मकता हुन्छ । उनीहरुबाट खोजपूर्ण पत्रकारिताद्वारा समाजमा हुने गरेका यस्ता किसिमका मौलाउदो अवैधानिकताभित्रको विकृति, विसंगतिको विरुद्धमा, समाजमा भए घटेका गलत घटनाहरुलाई सिर्जनशील कलमको सहाराले समाजकै अगाडि छर्लंग पारेर प्रकाशमा ल्याइन्छन् र उनीहरुले गलत प्रवृत्ति, कुसंस्कार र कुकार्यलाई निरुत्साहित गर्न सिंगो समाजलाई त्यसप्रति सचेत गराएर सभ्य, सकारात्मक र समुन्नत समाज निर्माणका लागि सही दिशा–निर्देश गरिरहेको हुन्छ । तर यहाँ बुई चढेर बहादुर बनेका पत्रकार भनाउदाहरु त्यस्ता घटनाहरुमाथि कलम चलाउदैनन्, डराउछन् बरु आफै संलग्न हुन पनि पछि पर्दैनन् । पीत पत्रकारिताद्वारा पालिएका उनीहरु स्वार्थको पत्रकारिता गर्छन् । अनि भन्न लाज मान्दैनन्, “म पत्रकार हुँ ।” के पत्रकारिताको धर्म यही हो त ?
यस्तै प्रसंगमा मैले एकपटक पत्रकार महासंघमा आवद्ध जिम्मेवार एक ब्यक्तिसँग स्वतन्त्र पत्रकारिता र पत्रकारको वर्तमान अवस्थाका बारेमा अनौपचारिक भलाकुसारीका क्रममा केही गुनासो पनि गरेको थिएँ । ब्यक्तिको नाउँ तोक्नु जरुरी छैन किनकि पत्रकार महासंघले कार्यगत मुल्यांकनद्वारा नै दिएको एउटा जिम्मेवार पदमा रहनुहुन्छ उहाँ । तर स्वतन्त्र पत्रकारिताको नारा लगाएर स्थापना भएको पत्रकार महासंघको जिम्मेवार ब्यक्तिबाट नै स्वतन्त्र पत्रकारिता भनिएता पनि यथार्थमा पत्रकारिता कहिल्यै स्वतन्त्र रहन नसक्ने अभिब्यक्ति आएपछि म एकपटक नराम्ररी मर्माहत भएँ । यूएईमा रहेको पत्रकार महासंघमा आवद्ध रहेका ब्यक्तिहरुको प्रसंगमा आवद्धताको मापदण्डका बारेमा गरेको सवालमा ‘छापाखानामा मेसिन चलाउने मजदूरदेखि पत्र–पत्रपत्रिका वितरण गर्नेसम्मका ब्यक्तिहरुलाई पत्रकार मान्नुपर्छ’ भन्ने खालको अर्को अभिब्यक्ति आएपछि फेरि अर्कोपटक नराम्ररी पछारिएँ ।
एकपटक कतारका केही परिचित पत्रकारहरुसँग मजदूरहरुको सेवा र कूटनैतिक सम्बन्ध विस्तारका लागि कतार पुग्दा आफूलाई सगरमाथा पुगेको भान भएर अस्वाभाविक र अपाच्य ढंगबाट कुर्लिदा मानवता गुमाएकी राजदूत मायाँकुमारी शर्माले कतारी भूमिमा कार्यरत मजदूरहरुलाई गरेको असहयोग र अजिम्मेवारपूर्ण दुब्र्यवहारका विरुद्ध आधिकारिकता प्राप्त पत्रकारहरुले कलम चलाउनुपर्छ भन्ने आग्रह गरिरहदा अनुरोधलाई वेवास्ता गरेर खास त्यस्तो कदम चाल्न हिच्किचाएका थिए । के यस्तै हुन्छ त पत्रकारिता ? यस प्रसंगमा दीपक भेटवालजी त्यस्ता महान ब्यक्ति हुन्, जसले स्वतस्फूर्त रुपमा जोखिमका वावजूद पनि आफ्नो निर्भीक कलम चलाएका थिए । म उहाँप्रति यतिबेला स–सम्मान सलाम ठोक्न चाहन्छु ।
यतिबेला म आफ्नै प्रवासी परिवेश वरिपरि घुमिरहेको छु । यी यथार्थहरु भनिरहँदा मैले सम्पूर्ण पत्रकारिता जगतलाई नै अपमान गर्न खोजेको हैन । कुनै ब्यक्तिप्रतिको ईष्र्या र विरोध पनि हैन, मात्र पत्रकारिताभित्र हावी गलत प्रवृत्तिको विरोध गर्न खोजेको हुँ, जुन आवश्यक मात्र नभई अपरिहार्य पनि हुन्छ । यहाँ त्यस्ता क्षमतावान, जिम्मेवार र निर्भीक पत्रकारिता गर्ने ब्यक्तिहरु पनि नभएका हैनन्, जसको म मुक्त कण्ठले प्रशंसा गर्दछु । माई संसार डटकमका पत्रकार सालोक्य, लेखक, साहित्यकार तथा पत्रकार खगेन्द्र संग्रौला जसको नाम सुन्नासाथ श्रद्धाले मेरो शिर झुक्न बाध्य हुन्छ । त्यस्तो पो पत्रकारिता ! तर यस किसिमको पत्रकारिता गर्ने प्रवासका फेसबुके र अनलाइन पत्रकारिताबाट हामीले के अपेक्षा गर्ने ? असत्य र अपुष्ट समाचारबाट भ्रमपूर्ण जीवन कति बाँच्ने ? भाषा र साहित्यको दख्खल नभएका लेख्नै नजान्ने र नलेख्नेहरु पहूँचको सिफारिसले प्राप्त गरेको परिचयपत्रको आधारमा पत्रकार बनेका छन् यहाँ । राष्ट्र निर्माणमा पत्रकारिताको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ, यस किसिमको संस्कारबाट कस्तो किसिमको नयाँ नेपाल बन्न सक्ला, के अपेक्षा गर्ने ? पत्रकार महासंघसँग जवाफदेहिता छ ? पत्रकार महासंघसँग के मुल्यांकन गरेर संस्था शुद्धिकरण गर्ने छ हिम्मत ? तसर्थ सभ्य, समुन्नत र सुसंस्कृत समाज निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट सक्दो पहल गरौं, यसैबाट सबैको हित हुनेछ ।

सर्वत्रापमानित ‘स्मृतिरोगी’
(प्रवासको कटु–यथार्थ अनुभूति)

.