Visitor Count

Up Down Scroll

होटलभित्रको त्यो गोप्य चर्तिकला

Hotel in Walingत्यतिबेला मैले थुप्रै पटक वुटवल–पोखरा ओहोर–दोहोर गर्नुपरेको थियो । कार्यगत अनुकूलताका लागि र सवारी उपलब्धताका आधारमा कहिले स्याङ्जा, पाल्पा हुदै वुटवलको बाटो प्रयोग गर्थें त कहिले पोखरा, नारायणघाट हुदै वुटवल जाने बाटो प्रयोग नगरेको होइन । त्यतिबेला आवत–जावतका क्रममा बनेका यी दुई (वुटवल र पोखरा) गन्तब्यका बीचमा पर्ने अन्य स्थानहरु जस्तै नारायणगढको बाटो हुदै जाँदा भरतपुर, चितवन र स्याङ्जाको बाटो हुदै जाँदा वालिङ, गल्याङ र पाल्पामा पनि विविध कारणवश बास बस्नु परेको थियो । यतिबेला मैले त्यही बसाईंका क्रममा संयोगवश देखेको अप्रत्याशित दृष्यको प्रसंग जोड्न खोजेको हुँ ।
साँझको समय थियो, सूर्यले पश्चिम आकाशबाट विदा मागिसकेको भए पनि उज्यालोको प्रभाव पूर्णतः निस्तेज भएर अँध्यारोले आक्रमण गरिहाल्न सकेको थिएन । होटलको नाम र स्थान उल्लेख गर्न चाहन्न ।
होटलको एउटा कोठामा म पट्यार लाग्दो गरी एक्लै मोबाइल खेलाउदै ओछ्यानमा पल्टिरहेको थिएँ । पल्लो कोठाबाट धेरै समय अगाडिदेखि नै अस्पष्ट गुन–गुन आवाज आइरहे पनि त्यतातिर मेरो त्यति ध्यान जान सकिरहेको थिएन । विस्तारै हल्लाले केही चर्को रुप लिन थालेपछि मनमा ‘खास के रहेछ’ भन्ने कौतुहलता जाग्न थाल्यो र पिसाव फेर्ने वहानामा बाहिर निस्किएँ । आधा खुल्ला रहेको ढोकाबाट कर्के नजरले भित्रैसम्म चिहाउने चेष्टा गरें । नसाको मातमा लठ्ठ परेका उनीहरुले मलाई देखे वा देखेनन्, त्यो त थाह भएन । तर जनसुरक्षाको जिम्मेवार संस्थामा कार्यरत रहेका जस्ता देखिने तीन अपरिचित अनुहारका बीचमा दुई परिचित अनुहार मैले प्रष्टैसँग चिन्न सकें । त्यसपछि त झन जिज्ञासाको तीव्रावेगले यी कानहरु ठाडा–ठाडा भए । वरिपरि कुर्सीहरु राखिएको कोठाको बीच भागमा ठूलो टेबुल थियो, टेबुलमाथि महंगा–महंगाजस्ता लाग्ने रक्सीका बोत्तलहरु थिए । गिलासमा हालिएका रक्सीहरु झण्डै आधा–आधा भैसकेका थिए । टेबुलको वरिपरि रहेका कुर्सीहरुमा ती पाँचजना घुमाउरो भएर बसेका थिए । टेबुलको गिलास उठाएर एक घुट्को घुटुक्क पारिसकेपछि एकजनाले भन्यो, “.........फलना मुद्धा मिलाउदा तिनीहरुबाट ....रुपैया लिएकोमा मेरो भागमा किन ......... रुपैयाँ मात्रै ?”
“....त्यो मुद्धाको कुरा गर्ने हो भने मैले त्यसमा त अहिलेसम्म भाग नै पाएको छैन ।” अर्कोले तत्काल थपिहाल्यो ।
उच्च ओहदाको जस्तो देखिने अर्को ब्यक्तिले सुस्त बोल्न सचेत गराउदा–गराउदै पनि एउटा परिचित अनुहार बोल्न थाल्यो, “मुद्धा खोजी–खोजी ल्याउने हामी । छिमेकीहरुलाई समेत आँखामा छारो हालेर पैसा फुत्काउने हामी । भागवण्डाका कुरामा तिमीहरु किन बाठो ?”

यति सुनिसकेपछि अरु कुरा सुनेर बाहिर बसिरहनु मेरो लागि उपयुक्त पनि थिएन र आवश्यक पनि लागेन । सायद त्यो होटल उनीहरुको अखडाजस्तै रहेछ र त्यो कोठा उनीहरुको लागि भागवण्डा र वार्ताको गोप्य कक्ष । मैले प्रष्टैसँग चाल पाइसकेको थिएँ । ‘सत्य, सेवा, सुरक्षणम्’ को मन्त्र जपेर खोक्रो आवरणभित्र लुकेका ती कलंकित ब्यक्तिहरुबाट हाम्रै परिवेश वरिपरि नै अख्तियार दुरुपयोग र अवैध आर्थिक चल–खेल हुदारहेछन् । म सोच्दथें, ती परिचित अनुहारहरु विना जागिर, विना कामधन्दा, विना मिहिनेत, विना उद्यमशील बरालिएर सम्भ्रान्त शैलीको जीवन कसरी जिइरहेका छन् ? त्यतिबेला बल्ल थाह पाएँ, उनीहरु त बजारिया मुद्धाका ‘बजार प्रतिनिधि’ हरु पो रहेछन्, कमिशनखोरहरु रहेछन् । र जनसुरक्षाका पहरेदार भनाउदाहरु न्यायको क्रय–विक्रयको कारोवार गर्ने सञ्चालकहरु ।

कोठाभित्र आइसकेपछि म धेरैबेर सम्म घोत्लिन बाध्य भएँ, नयाँ नेपालको परिवर्तनप्रति । नयाँ नेपाल भनिने मुलुकमा त त्यस्तो खासै केही परिवर्तन नभएको जस्तो भान भयो । २०६२÷२०६३ सालको जनआन्दोलन–२ मा देशैभरिबाट सामन्ती राजतन्त्रको विरुद्धमा स्वतस्फूर्त रुपमा सडकमा उर्लिएको जनसागरले तत्कालीन शाही सुरक्षाकर्मीको बन्दुकको नालबाट निस्कने गोलीको समेत परवाह नगरी ल्याएको कठपुतली गणतन्त्रप्रत्रि मनमनै धिक्कारें । जनताको अवस्था, हक, अधिकार र सुरक्षा ब्यवस्थाका बारेमा अनेकन तर्क वितर्कहरु मनभित्र जन्मिए । आक्रोशले बंगाराहरु कस्सिएर दह्रा–दह्रा भए । फेरि एउटा अर्को क्रान्तिको आवश्यकता रहेको महशुश पनि गरें । यस्तै यस्तै के के सोच्दा सोच्दै समय गएको थाहै पाइन । बाहिरबाट “खाना खानुहुन्न दाई ?” भन्दै ढोका ढक ढक गरिरहेको होटलका भाईको आवाजसँगै सबै सेलाएर गए । मोबाइलमा यसो हेरें, आठ बजिसकेको थियो । कतिखेर उनीहरु गइसकेका रहेछन् पत्तै भएन । लोडसेडिङको समय थियो, बत्ती थिएन । म त अध्यारैमा पो बसिरहेको रहेछु ।

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ 
.