Visitor Count

Up Down Scroll

कविताः यो कृत्रिम शहरमा

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

हे हुतिहारा हो,
बाँच्ने हिम्मत गर्नुपर्छ,
बाँचे के के देखिन्छ यहाँ
देखे के के लेखिन्छ यहाँ
एक हुल कागको बथान भए पुग्छ
यथार्थ पनि छेकिन्छ यहाँ

यो सपना हराएको निरीह शहरमा,
निर्धा लाटाहरु छन्
लाटाहरुको शहरमा गाँडाहरुको राज हुदोरहेछ
फुल्न नसकेका कोपिलाहरु ओइलाएर झर्दारहेछन्
बजारिया प्लाष्टिकका फूलहरु कहिल्यै ओइलाउदैनन्
ती दिगो सुन्दर हुदारहेछन्
तिनकै सुन्दरताको बयान गरिदो रहेछ
सुगन्धित पनि छ भनेर अफवाह फैलाइदो रहेछ
यो कृत्रिम भ्रमपूर्ण शहर यसरी नै बाँचेको रहेछ

यहाँ खुट्टा नहुनेहरु
काँध चढेर सगरमाथा पुग्छन्
खुट्टा हुनेहरु निरीह बनेर
उसको सफलतामा
ताली पिट्न बाध्य हुन्छन्
आकाशबाट बर्षने पानीको सहारामा
साउने भेलका खोल्साहरु
बेस्सरी गर्जन्छन्,
“हामी कयौं गुना बलवान छौं,
शान्त सुसाईसँगै
आफ्नै मन्द गतिमा
अविरल बग्ने ती नदीहरुभन्दा,
त्यो सागरमा उत्पन्न हुने
ठूला–ठूला ज्वारभाटाहरुभन्दा ।”
मलाई खित्का छोडी हाँस्न मन लाग्छ
त्यो गर्जन सुन्दा,
त्यो ताण्डव नृत्य देख्दा ।

यहाँ गाउन नजान्नेहरु गायक बन्छन्
अभिनय गर्न जाने पुग्छ,
पैसाको विटो छरे हुन्छ,
सिद्धान्तविहीनहरु राजनेता बन्छन्
हतियार बोके पुग्छ,
यथास्थितिवादीहरु ‘क्रान्तिकारी’ भइटोपल्छन्
खोस्टो परिचय–पत्र देखाएर
आफूलाई महान सम्झन्छन्
मलाई जिज्ञासा जाग्छ
र सोध्न मन लाग्छ–
‘हतियारको आडमा बुर्जुवा क्रान्ति आखिर कहिलेसम्म टिक्न सक्छ ?

.