Visitor Count

Up Down Scroll

लघु कथा: औपचारिकता

गीता थापा
गर्भमा हुँदा ऊ मात्र ईश्वरलाई चिन्थ्यो। बारम्बार हात जोडेर ईश्वरसित बिन्ती बिसाउँथ्यो। ऊ त्यो गर्भको कष्टकर जिन्दगीबाट स्वतन्त्र चाहन्थ्यो। यदि ईश्वरले उसलाई त्यो नर्क कुण्डबाट श-कुशल बाहिर निकालिदिए भने ऊ ईश्वरले देखाएकै मार्ग हिँड्ने बाचा गर्थ्यो। ईश्वरकै जयजयकार गाउने बिश्वाश दिलाउँथ्यो। उसको बिलौनाले ईश्वरको मन पनि पग्लियो।

ऊ नौ महिनामा आमाको गर्भबाट बाहिर निस्कियो। बाहिर निस्किएपछि जसै बाहिरी दुसित हावाले उसको फोक्सोमा प्रवेश गर्‍यो। ऊ कहालिएर रोयो। रुदारुदै उसले भोकको महसुस गर्‍यो। आफ्नै हातका औंला मुखभित्र हुलेर च्वाप च्वाप पारेर चुस्न थाल्यो। आमाले उसको भोक मेटाउन आफ्ना दूधका लाम्टा मुखभित्र राखिदी र परमसुखद अनुभूतिले गद गद भइ। उसले आमाका लाम्टाबाट निस्किएको अमृतजलपानले पेट भरेर सन्तुष्ट प्राप्त गर्‍यो।


जसै-जसै ऊ बढ्दै गयो। ईश्वरलाई भुसुक्कै भुल्यो। ईश्वरसँग गरेको बाचा पनि भुल्यो। अब ऊ आमाबाउ दाइ-भाइ दिदी-बहिनी नातागोता साथीभाइ इष्टमित्रको जञ्जालमा फस्दै गयो। लोभ,मोहको वन्धनमा बाँधिदै गयो। भौतिक दुनियामा चुर्लुम्मै डुबेपछि उसले शारारिक आवश्यकता महसुस गर्‍यो। सबैको जोडाजोडी देख्दा उसले आफूलाई नितान्त एक्लो सम्झियो। त्यसपछि सुन्दर युवतीसँग विवाह गररेर घरजम बसायो। ऊ युवतीको प्रेममा गहिरिँदै गयो। विस्तारै ऊ युवती बिनाको जीवन कल्पना समेत गर्न नसक्नेमा पुग्यो।

हुँदाहुँदै ऊ सन्तानको बाउ बन्यो। जिम्मेवारीले उसलाई थिच्दै लग्यो। उसले सास फेर्ने फुर्सत समेत पाउन छोड्यो। अब ऊ पृथ्वीको रङमञ्चमा नाटक गर्न अभ्यस्त भयो। घरजग्गा गाडी, घोडा श्री-सम्पत्ति जोड्न रात दिन झरी बादल केही नभनी लागीरह्यो। सम्पत्तिको नशा यति लाग्यो कि उसलाई जति कमाएपनि कम हुन थाल्यो। सम्पत्तिको लागि ऊ जस्तोसुकै कर्म गर्न पनि पछि हटेन।

ऊ सानो छँदा आमाले भनेकी थिइ-छोरा जस्तोसुकै दु:ख कष्ट आइपरे पनि आफ्नो धर्म नछोड्नु।इमान्दारीनै मनुष्यको सबै भन्दा ठूलो सम्पत्ति हो। उबेला उसले स्विकारयुक्त टाउको हलाएर आमाको वचन पालाना गर्ने बाचा गर्‍यो।

बाउले भन्यो-धर्म छोडेपनि हामी मनुष्यले औपचारिकता निभाउन भने भुल्नुहुन्न। कुकर्मबाट बच्ने उपायहरू प्रसस्तै छन्। गरीब दुखिलाई चुसेर बेलामौकामा दुईचार जोर लत्ताकपडा र एक दुई मन अन्न दान गरे मुक्ति मिल्छ। आमा बाउलाई ज्यूँदोमा तिरस्कार गरेर मरेपछि तेह्र दिनसम्म अलिनो खाएर मलामीलाई मीठो खुवाएर बाहुनलाई दान गरेर वर्ष वर्ष दिनमा एक डल्लो पिण्ड लडाईदिए पापबाट छुट्करा मिल्छ। तर हामी सामाजिक प्राणी भएको नाताले समाजको अगाडि औपचारिकता निभाउन भने कहिल्यै भुल्नुहुन्न।

ऊ पुरुष प्रदान समाजमा जन्मेर हुर्केको एउटा पुरुष। उसलाई आमाको धर्म छोड्नु हुन्न,हामी मनुष्यको सबै भन्दा ठूलो धर्म भनेको इमान्दारी हो भन्ने कुराले भन्दा ज्यादा प्रभाव बाउको कुराले पार्यो। उसले आमासँग धर्म छोड्दिन। इमान्दारी बन्छु भनेर गरेको बाचा भुल्यो। ईश्वरसँग गरेको बाचा पनि भुल्यो। जीवनमा उसले सम्पत्ति एक कठ्ठा गर्ने हेतुले जे जति कुकर्म गरे पनि। सामाजिक प्राणी भएको नताले औपचारिकता निभाउन भने कहिल्यै भुलेन।
.