Visitor Count

Up Down Scroll

मेरो अन्त्येष्टिमा...

लासमाथि मेरी आमा झम्टी–झम्टी रुँदा,
          तिमी कुम ठोकी–ठोकी नाचिदिनू ।
संस्कारअनुरुप मेरो अन्त्येष्टिको मन्त्र जपिंदा,
          तिमी खित्का छोडी उन्माद हाँसो हाँसीदिनू ।
श्मशानघाटतर्फ मेरो मलामीको लस्कर लाग्दा,
          तिमी सुन्दर भविष्यको परिकल्पना गर्दै जन्तीसहित पराईघर जानू ।
श्मशानघाटमा मेरो चिता निर्माण हुँदा,
          तिमी आफ्नो गगनचुम्बी महलको सिंहावलोकन गर्नू ।
मेरो पार्थिव शरीर चितामाथि चढाईंदा,
          तिमी सुखानुभूतिका साथ कर्मघर सम्हाल्नू ।
मेरो मुखमा दागबत्ती परेको बेला,
          तिमी तालीको एक गडगडाहट मच्चाउनू ।
म अग्निले पूरै खरानी भएको बेला,
          तिमी संसार विजय भएको सम्झनू ।
          विजयको गौरवोत्सवमा ‘विशाल पार्टी’ को आयोजना गर्नू ।
          बश विजयको उच्छवास फेर्नू ।

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(असह्य ‘प्रेमवियोग’ को अनपेक्षित पीडाले विह्वल भै हतासिएको क्षणमा अचानक ‘स्मृतिरोगी’ को अन्तस्करणबाट प्रष्फुटित यथार्थ हृदय–उद्गार)

.