Visitor Count

Up Down Scroll

क्याबिन रेस्टुरेन्टमा एकदिन

Cabin Restaurant in Kathmanduसुर्यदेवले विदा लिएपछि दिनलाई रात्रीकालिन कालो सन्नाटाले आक्रमण गरी आफ्नो वशमा लिदै समय सन्ध्याकालीन अबस्थामा प्रवेश गर्दैथियो. दिनको धुलोधुवाँ केही मत्थर भएको महशुस भएपनि मानिसहरुको भिडभाड र यातायातका साधनहरुको घाइघुइ भने यथावत नै थियो. चारैतिर बिजुली बत्ति बल्न थाल्यो । यसै समयमा काठमाडौँको रात्रीजीवन शुरु हुदोरहेछ अब पुरै शहर झिलिमिली बन्दै गयो केही पसलहरु त झन् रंगीबिरंगी ती बत्तीका झिप्झिप्ले नवबधुझैँ प्रतीत हुन्थ्यो तिनै ठाउंहरुबाट सुमधुर गीत-संगीतको कर्णप्रिय झन्कार  आइरहेको थियो मनमोहक संगीतमय वातावरणको बिचमा कतै झ्याम-झ्याम नेपाली लोकदोहोरी गीतहरु बजिरहेको थिए भने कही अन्य गीतहरु बजेको सुनिन्थ्यो  बसन्त ऋतुको आगमनसंगै पलाएको उष्ण-उष्ण चैत्र महिनाको एकदिनको कुरा हो यो


त्यतिबेला म पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा विविएस तहमा अध्ययनरत थिएँ  पोखराको बसाईं र क्याम्पसस्तरमा अध्ययनरत  भएपनि म अन्तर्मुखी स्वभाव र गाउँबाट आएको कारणले नै होला, निकै सोझो थिएँ र देखिन्थें पनि अर्कालाई होच्याएर बोल्न मन लाग्दैनथ्यो र समस्या परेको बेला पनि अरुलाई भन्न  चाहन्नथें वा भनौं सक्दिनथें यसै क्रममा एकदिन म व्यक्तिगत काम बिशेषले राजधानी काठमाडौँ गएको थिएँ. काठमाडौँको २ दिने बसाईंमा पनि समयमै काम नसकिएपछि सांझसम्म भएपनि काम सकेर राति नै फर्कने निश्चय गरें सोही अनुरुप काम भएपश्चात म गोगंबुमा मित्रनगरको बाटो हुदै बसपार्क तर्फ जादैथिएँ त्यही क्रममा उक्त दृश्यहरु देखेको थिएँ विभिन्न पत्र-पत्रिकाहरुमा उद्धृत गरिएका ती यथार्थ कथाहरु यदाकदा पढेतापनि कथाकै रुपमा ग्रहण गरिएका त्यस्ता घटनाहरुप्रति त्यतिबेला म अनविज्ञ नै थिएँ च्याउ उम्रेझैं राजधानी र देशका विभिन्न शहरी क्षेत्रहरुमा खुलेका त्यस्ता ती क्याबिन रेस्टुरेन्टहरुका अगाडि बहुशृंगारका सामग्रीहरुले पोतिएर त्यस्ता बत्तीहरुको चमकमा स्वर्गमा नाच्ने अप्सराझैँ सुन्दरी देखिने युबतीहरुको समूह त्यतिबेला ग्राहकहरु खोज्दै बोलाउदै गरेको देखिन्थ्यो आफ्नो जालमा परेका अन्जान तथा सिधासादा मानिसहरुलाई नांगेझार बनाएर पठाउन उद्यत ती नगरबधुहरुको चर्तिकला हेर्दै त्यही बाटो हिड्दै थिएँ सोही क्रममा ती युबतीहरुको जमातबाट  मलाई पनि बोलावट भयो-
"आउनुस न दाई एकछिन प्लीज !"
"आउनुस न दाई! प्लिज के!"   भन्दै एउटी त हात समाएर तान्न पो लागी  मैले केही भन्न सकिन

"आफै आउनुपर्ने ठाउंमा यति रिक्वेस्ट गर्दा पनि नआउने, तपाई त कस्तो छ्या !"  अर्कीले थपी म नर्भस भएँ  केही बोल्नै सकिन
"किन डराउनुभएको? डराउनुपर्दैन! आउनुस के दाई!"  भन्दै उसले मलाई एउटा टेबुलमा पुरयाई
काठका प्लाईउडहरु र पर्दा राखी रंग-रोगन गरी आकर्षक बनाइएको टेबुल भएको त्यो ठाउं लाग्थ्यो कि एउटा छुट्टै कोठा हो त्यसलाई 'क्याबिन' भनिदोरहेछ, त्यसैले क्याबिन रेस्टुरेन्ट भनिएको होला म यताउति नियाल्दै अनुमान लगाउनपुग्छु
"के हो दाई, तपाइको नाम? के खानुहुन्छ?"  उसले सोधी, परिचय गर्ने जसरी
"चिसो दिनुस न त!"  तिर्खा लागेजस्तो भएकोले मैले त्यतिखेर चिसो मागें
उ गई र दुइवटा क्यानमा त्यस्तै के चिसो पेयपद्धार्थ लिएर आई र म संग ढेप्पिएर बस्दै एउटा खोलेर पिउन पो थाली  मलाई कता-कता यो घटना रोमान्चक, कता-कता डर, कता-कता सपना हो कि जस्तो अनुभूति भइरहेकोथियो
"हामीलाई नि खुवाउनुस न दाई !"  भन्दै अन्य युबतीहरु पनि खै के के ल्याउदै  पिउन थाले
"यसरी पो ठग्दा रहेछन !" मैले मन-मनै भनें. र छिटो-छिटो पिएर निस्केर जाने सुर कसें
"अब म जान्छु! " त्यहाँ बसेर त्यो सब मलाई भिडाएर पैसा लुटिन्छ भन्ने सोचले मैले भनें
"एकछिन त बस्नोस न दाई !"  उसले अनुरोध गरी
"नाई, म जान्छु! "  म उठें
"पखनोस है त उसोभए! म बिल लिएर आउछु "  उ उठेर गई
"त्यो चारजना, त्यो अनि म. जम्मा छ ओटा............" तीसै लिएपनि दुइ सय त आउला " मैले मन-मनै हिसाब गरिरहेको थिएँ एकैछिनमा सानो बिल लिएर टेबुलमा राखीदिई  बिल देखेर म त झल्यास्सै भएँ  मेरो होस्-हवासै उड्यो
"एक्काइस सय !..!...!.........कसरी ????" म उठेर काउन्टरतिर गएँ. घर छोडेर अध्ययनका लागी बाहिर बसेको बिद्यार्थी म कसरी त्यत्रो पैसा त्यसै उडाएर तिर्न सक्छु भन्ने सोच्दै
आउदा भित्र पस्दा युवती भएको त्यस काउन्टरमा अहिले लामो-लामो कपाल राखेको, कानमा मुन्द्रा, हातमा खै के के लगाएको हेर्दै गुन्डागर्दी गर्ने मान्छे जस्तो देखिने युबक थियो

"कसरी यो बिल एक्काइस सय भयो र सर ? "  मैले डराई-डराई नम्र भएर सोधें
 उसले क्याल्कुलेटरमा ६*३५० गरेर २१०० देखायो बिल हेरें, त्यस्तै रहेछ
"जाबो चिसोलाई ३५०? यो त साह्रै महँगो भएन र, सर? " मैले गुनासो गरें
"यहाँ यस्तै हुन्छ, तपैले ६ वटा लिनुभयो, त्यसको तिर्ने पर्छ " उसले भन्यो
"यो त सरासर ठगी भयो त ! त्यत्रो रकम मसंग तिर्न सक्दिन " मैले भनें
"तैले नतिरे कसले तिर्छ त!" उ एक्कासि  तपाई बाट त मा झरयो

"तिर्न सक्दिन भन्न  लाज लाग्दैन? पैसा निकाल !" अघि 'आउनुस न' भन्ने युवतीले पनि  स्तर ओर्लेर थप्दै थिई
"मसंग त्यत्रो पैसा छदै छैन " मैले भनें.
"म अरु जान्दिन, मलाई एक्काइस सय  चाहिन्छ, खुरुक्क " युबक बोल्यो
"पैसा  छैन भन्न लाज लाग्दैन नामर्द? " अर्कीले बोली
"थुइक्क पैसा नभए किन यहाँ आइस त ?" अर्कीले थपी
"छ छ, यो संग पैसा छ,  पैसा  निकाल " अर्कीले पर्स छाम्न थाली

"पैसा नभए मोबाइल-सोबाइल त होला नि ?" त्येसले पनि छाम्न थाली
मैले उनीहरुको हात हटाउदै पर्स निकालेर हातमा लिएँ  अब नतिरी नहुने अन्तिम विकल्प देखेपछि डिस्काउंट गर्न भन्दै आफै एक हजार रुपैया निकालेर दिएँ
"खानेबेलामा आँखा देखिनस, त्यतिले हुन्छ ?" त्यो केटि अघि सरेर बोली
"यी यहाँ रहेछ मोबाइल! मोबाइल छोडेर जा !" खल्ती छाम्दै अर्कीले निकाल्न खोज्दै भनी
" यो मोबाइल त दिन सक्दिन म"  म बोलें, " मेरो काम लथालिङ्ग हुन्छ"
"तेरो काम हामीलाई के मतलब ?" अर्की युवती च्याठीई
"मलाई छोडिदिनुस प्लिज ! म कहाँ पुग्नुपर्ने मान्छे ...." भन्दै म निस्कन खोजें
"पैसा तिर, अनि मात्र जा " बाटो छेक्दै सबै बोल्न थाले
" म संग त्यत्रो पैसा छैन त के गरौँ ?" मैले बाध्यात्मक बोली बोलें
"खै मोबाइल देखा त हेरौं " केही समय चुपचाप त्यस युबक बोल्न थाल्यो
"सरि, यो मोबाइल म देखौना सक्दिन   "
"उसो भए जबसम्म पैसा पुरा हुदैन, तब सम्म चुप लागेर बस " युबक फेरि बोल्यो
"के भन्ने त? खै पर्स देखा त..........देखा! "  सबै करुणा थाले
"होला नि त्यो पर्स म अरु पैसा "
"खै ले पर्स " फेरि एउटी युवती खोस्न थाली
अन्तत तिनीहरुले भनेको सम्पूर्ण एक्काइस सय रुपैया नतिरी धरै पाइन  तिर्न बाध्य भएँ उनीहरुको त्यस किसिमको अभद्र दुर्ब्यबहार पनि सहन बिबस भएँ  र जान-अन्जान अनायासै त्यस ठाउमा गएकोमा ग्लानिले निन्याउरो मुख लाएर बसपार्कतर्फ छिरें  छिनभरमै त्यसदिन अनाहकमै म एउटा बिद्यार्थीको त्यत्रो रकम फजुल खर्च भएकोमा दुख लागिरहेको थियो
यो त भयो मैले भोगेको एउटा सानो उदाहरणमात्र. हाम्रा वरिपरी र आँखाअगाडि यस्ता घटनाहरु प्रशस्त भएका छन्, भैरहेका छन्  अस्ति भर्खर मात्र विदेशबाट आएको मेरै छिमेकी 'बुद्धिबहादुर थापा' को पनि तिनीहरुले बुद्धि  भुट्न सफल भएछन खाडीको चर्को घाममा श्रम-पसिना बगाएर दुख गरी कमाएर ल्याएको धन राजधानी छिर्ने बित्तिकै उनीहरुको फन्दामा परी उतै स्वाहा भएर रित्तो हात फर्कनुभयो  कयौ सर्बसाधारण यसरी ठगिन पुगेका छन्
खासगरी सिधा-साधा आमनेपाली जनतालाई लक्षित गरी खोलिएका यस्ता किसिमका 'क्याबिन रेस्टुरेन्ट' तथा बारहरुले अन्जानमा होस् वा मादकपद्धार्थको नसामा परेर कयौ व्यक्तिहरुलाई नांगेझार बनाई पठाउने गरेको यथार्थ हामी समू भैरहेछन्  अघोषित रुपमा  यौन ब्यबसायसमेत गोप्य रुपमा संचालन  गर्ने यस्ता 'क्याबिन रेस्टुरेन्ट' हरुले सर्बसाधारणलाई हाकाहाकी ठग्ने, समाजमा अनैतिक क्रियाकलाप फैलाएर बिकृति विसंगति निम्त्याउने  जस्ता गलत प्रवृत्तिहरु भैरहदा पनि सम्बन्धित निकायले कुनै किसिमको चासो नदिनु र सशक्त कारबाही गर्न नसकी ती नियमित क्रियाकलापहरु संचालन  भैरहनु एउटा आश्चर्य मात्र नभई देशमा ब्याप्त हत्या, हिंसा,ठगी, डकैती,अपहरण जस्ता अशान्तिपूर्ण आपराधिक गतिबिधिबिरुद्धको दण्डहीनतालाई प्रश्रय र प्रोत्शाहन दिनु पनि हो  बामदेव गौतम गृहमन्त्री छंदा यस्ता अनैतिक, अमर्यादित र उच्छ्रिंगखल प्रवृत्तिका क्रियाकलापहरु संचालन गर्ने ब्यबसायिक संस्थाहरुमा आचारसंहिता कडाई गरेपनि हाल सो क्रम रोकिएको छैन  त्यसकारण आमजनताको जनजीबनमा यस्ता थागीएबुम अनैतिक तथा आपराधिक कार्यहरुलाई निरुत्साहित गर्न छ्याप्छ्याप्ती खुलेका क्याबिन रेस्टुरेन्टहरुलाई संचालनमा रोक लगाइनुपर्दछ. कि त निश्चित स्पस्ट मापदण्डमा त्यसको बलियो परिधिमा रहेर संचालित हुनुपर्दछ  अन्येथा सभ्य, बिकृति र विसंगतिरहित मर्यादित समाजमा नैतिक खलल पुग्नुका साथै मानवीय दैनिक जीवनमा अनुचित कार्यले ठुलो असर पार्नसक्नेछ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.